१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


वैदेशिक सहयोगका अधिकांश सडक आयोजना ठप्प


0
Shares

काठमाडौं, भदौ ३१ । वैदेशिक सहयोगमा निर्माणाधीन अधिकांश सडक आयोजना ठप्प छन् ।

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण देशभरमा सञ्चालित अधिकांश आयोजना अघि बढ्न नसकेका हुन् ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गबाहेकका अरु आयोजनामा काम अघि बढेको छैन ।

निर्माणाधीन योजनासँगै निर्माण सुरु गर्ने भनिएका आयोजनासमेत अहिले निर्माण सुरु हुने अवस्थामा छैनन् ।

बुटवल–पोखरा सडक विस्तार, नागढुंगा–मुग्लिन सडक र सोही स्थानमा त्रिशूली पारिपट्टि बनाइँदै गरेको सडक, गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडकलगायत आयोजनमा यसको प्रभाव देखिएको छ ।

यीमध्ये कतिपयमा निर्माण ठप्प र कतिपय कछुवा गतिमा अघि बढेको सडक विभागका सहायकता समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो-‘सबै योजनामा यथास्थितिमा नै निर्माण ठप्प छ ।’

काठमाडौं उपत्यका र उपत्यकाबाहिरका विभिन्न योजनामा वैदेशिक लगानी सुनिश्चित भएपनि कोभिड–१९ कै कारण अघि बढ्न नसकेको पाइन्छ ।

चक्रपथको पहिलो चरणकारुपमा कोटेश्वर–कलंकी सडक निर्माण गरेको चीन सरकारले दोस्रो खन्डको पनि विस्तार गर्ने जनाएको थियो । निर्माणस्थल खाली भइसकेपनि चिनियाँ टोली आइसकेको छैन ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले जडीबुटी र नयाँबानेश्वर चोकमा ‘फ्लाई ओभर’ निर्माण गर्नेगरी छलफल भएको थियो ।

विगतका वर्षदेखि नै जाइकाले सो स्थानमा फ्लाई ओभर निर्माण गर्न चाहेको थियो । तत्काल कुनैपनि योजना अघि बढ्ने अवस्था नभएको प्रमुख थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो-‘अवस्था सामान्य नहुँदासम्म उनीहरु आएर काम सुरु गर्ने देखिँदैन ।’