
नयाँदिल्ली, भदौ ३१ । भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको संख्या झन्डै ४९ लाख नाघेको छ ।
सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा ८३ हजार ८०९ जना थप संक्रमित भएका छन् ।
सोही अवधिमा एक हजार ५४ जना संक्रमितको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
देशभरि अहिलेसम्म कुल संक्रमितको संख्या ४९ लाख ३० हजार २३७ पुगेको छ भने कोरोनाकै कारण कुल मृतकको संख्या ८० हजार ७७६ पुगेको छ ।
भारतमा कुल संक्रमितमध्ये नौ लाख ९० हजार ६१ जना अझैपनि संक्रमित अवस्थामै रहेका छन् भने अरु ३८ लाख ५९ हजार ४०० जना संक्रमणमुक्त भइसकेका छन् ।
मन्त्रालयकाअनुसार संक्रमणमुक्त भएकाहरुको अनुपात ७८.२८ प्रतिशत रहेको छ । यो एकदमै सकारात्मक अवस्था रहेको सरकारी अधिकारीहरुको भनाइ छ ।
उनीहरुकाअनुसार अहिलेपनि संक्रमित अवस्थामै रहेकाहरुमध्ये झन्डै आधा अर्थात् ४८.८ प्रतिशत संक्रमितहरु महाराष्ट्र, कर्नाटक र आन्ध्र प्रदेशमा मात्रै रहेका छन् ।
भारतमा दैनिक संक्रमितको अवस्था उच्च रहेको छ । केही दिन झन्डै एक लाख पुग्न लागेकोमा अहिले फेरि घटेको देखिएको हो ।
कोरोनाभाइसबाट संक्रमित भएकामध्ये भारतमा पछिल्लो २४ घन्टामा मात्रै ७९ हजार २९२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्