२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आजदेखि सोह्र श्राद्ध समापन गरिँदै


0
Shares

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ ।

आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो ।

आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा) को श्राद्ध भने यस वर्ष मलमासका कारण कार्तिक १ गते परेको छ ।

पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवंवगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध समेत भनिन्छ ।

यस वर्ष भदौ १७ गतेदेखि शुरु भएको पितृ पक्ष आज असोज १ गते विधिवत् समापन गरिँदै छ । पितृ पक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ ।

कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ ।

कुनै कारणवश अड्किएर आज पनि गर्न नसकेमा आपत् धर्म अनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।