७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै आन्दोलन, प्रहरीले घटनामा संलग्नलाई पक्राउ नगरेको आरोप


0
Shares

विराज रोस्यारा /ईमेज
कैलाली । कैलालीमा सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा राजनीतिक आवरणमा पटक–पटक सञ्चारकर्मीहरुमाथि आक्रमण हुन थालेपछि पत्रकारहरु आन्दोलित भएका हुन् ।

कैलालीको धनगढीमा रहेको दिनेश सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै कैलालीका पत्रकार आन्दोलित भएका छन् ।

पीडित पक्षले कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै किटानी जाहेरी दिएपनि प्रहरीले घटनामा संलग्नलाई पक्राउ नगरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् ।

सञ्चार गृह र पत्रकारमाथि भएको आक्रमणको भत्र्सना गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मिन बमले गुण्डा शैलीमा आक्रमण गर्नेलाई कारवाहीको माग गर्नु भयो ।

अपराधिक समूहमा आवद्धलाई घटना घटेको ४ दिनसम्म पनि पक्राउ गर्न नसकेको बताउँदै उहाँले पत्रकार र सञ्चार माध्यममाथि भएको आक्रमणप्रति संवेदनशील हुन प्रहरी प्रशासनलाई आग्रह गर्नुभयो ।

कुटपिटमा संलग्नलाई ४ दिनसम्म पक्राउ नगरिएको बताउँदै नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष अर्जुन शाहले प्रहरी, प्रशासनको क्षमता र नियतमाथि प्रश्न उठेको बताउनु भयो ।

आपराधिक मानसिकता भएकाहरुले सञ्चार गृहमा आक्रमण गर्दैमा पत्रकारको कलम बन्द नहुने पनि उहाँले बताउनुभयो ।

ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल वानका उप–महासचिव गोविन्द रोस्याराले प्रहरीको भूमिकामाथि औंला उठाउने ठाउँ देखिएको बताउनुभयो ।

कोरोना महामारीको बेलामा सडकमा आउन बाध्य भएको बताउँदै प्रहरीले आक्रमणकारीलाई तत्काल पक्राउ गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

धनगढीमा सञ्चारकर्मीले गलत समाचार लेख्यो अथवा आफ्नो पक्ष वा विपक्षमा समाचार लेख्यो भन्दै उनीहरुमाथि पटक पटक आक्रमण भइरहेको छ ।

समाचारनै गलत भए कानुनी उपचारको बाटो हुँदाहुँदै गुण्डागर्दी मौलाउनुमा राजनीतिक संरक्षण मुख्य कारक हो ।