१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हराएको फोनमा ‘बाँदरको सेल्फी’ भेटिएपछि


0
Shares

काठमाडौं । मलेशियामा एक युवकले आफ्नो हराएको फोन फेरि भेटिँदा त्यसमा बाँदरले खिचेका सेल्फी र भिडिओ फेला परेको बताएका छन्।

जाक्रिद्ज रोद्जी नामक २० वर्षीय ती विद्यार्थीले बाँदरले फोन खान खोजे जस्तो देखिने भिडिओसहित सामग्रीहरू ट्विटरमा हालेपछि ती अहिले सामाजिक सञ्जालमा व्यापक भएका छन्।

उनका अनुसार उनले शनिवार बिहान उठेपछि फोन हराएको थाहा पाएका थिए । घटना दक्षिणी राज्य जोहोरको बाटु पाहाटमा भएको हो।

बीबीसीलाई उपलब्ध गराइएको एउटा भिडिओमा त्यही दिन दिउँसो २:0१ बजे एउटा बाँदरले फोन खान खोजे जस्तो देखिन्छ।

त्यसमा उक्त बाँदरले फोनको क्यामरामा ट्वाल्ल परेर हेरेको र हरिया पातको पृष्ठभूमिमा काग कराएको सुनिन्छ। फोनमा उक्त बाँदरका र रूख तथा पातका धेरै तस्बिरहरू छन्।

रोद्जीले आइतवार दिउँसोसम्म फोन नभेटिएको तर आफ्ना पिताले घरबाहिर एउटा बाँदर देखेपछि आफ्नो नम्बरमा फोन गर्दा घरपछाडि जङ्गलमा घण्टी बजेको सुनिएको बताए ।

खोज्दै जाँदै हिलो लागेको फोन पामको रूखमुनि पातहरूले छोपिएको अवस्थामा भेटिएको थियो ।

एक आफन्तले फोनमा चोरको तस्बिर होला भनेर ठट्टा गरेको सम्झिँदै फोन खोलेर हेर्दा बाँदरका तस्बिरहरू भेटिएको उनी सुनाउँछन्। यो अनौठो लाग्ने समाचार बीबीसी नेपाली सेवाले तयार गरेको हो ।