२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जोखिममा रहेका बस्तीहरुको पुनःस्थापनाका लागि १० दिनभित्र कार्यविधि बनाइने


0
Shares

काठमाडौं, असोज १ । बाढी-पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनःनिर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले बाढी-पहिरोले क्षति गरेका र उच्च जोखिममा रहेका बस्तीहरुको पुनःस्थापना गर्न कार्यविधि बनाउने निर्णय गरेको हो ।

सिन्धुपाल्चोक, कालीकोट, बागलुङलगायतका जिल्लामा बाढी-पहिरोले ठूलो जनधनको क्षति भएपछि उच्च जोखिममा रहेका बस्तीहरु स्थानान्तरण गर्ने विषयमा बिहीबार छलफल भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो ।

भूकम्पपछिको पुनःनिर्माणको अनुभवलाई आधार मान्दै बस्ती व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउने, दिगो कसरी बनाउने भन्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, सहरी विकासमन्त्री बसन्त नेम्वाङ र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायत तीनओटै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो ।

मनसुन सुरु भएपछि नेपालमा बाढी-पहिरोबाट ठूलो जनधनको क्षति हुँदै आएको छ ।