
काठमाडौं, असोज १ । काठमाडौं उपत्यकामा पछिल्लो एक महिनायता कोरोना संक्रमितको संख्या बढेसँगै मृत्युदरसमेत बढेको छ ।
बढ्दो जनघनत्व रहेको उपत्यकामा हालसम्म संक्रमणका कारण ९१ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ३८३ जनाको मृत्यु भएको छ । यो संख्या कुल संक्रमित संख्याको ०.६४ प्रतिशत हो ।
हाल काठमाडौं उपत्यकामा कोरोनाबाट मृत्यु हुनेको दर कुल मृतक संख्याको २४ प्रतिशत रहेको छ । जसमा काठमाडौंमा ६९, भक्तपुरमा १३ र ललितपुरमा नौजना छन् । मृत्यु हुनेमध्ये धेरै दीर्घरोगी छन् ।
पछिल्लो समय उपत्यकामा संक्रमणको दर उच्च रहेको छ । १४ हजार बढीमा संक्रमण देखिएको छ ।
काठमाडौंमा ११ हजार ८३६, भक्तपुरमा एक हजार १८६ र ललितपुरमा एक हजार ३४७ जना संक्रमित छन् । संक्रमितमध्ये धेरैजना होम आइसोलेसनमा छन् ।
उपत्यकामा बुधबार अहिलेसम्मकै धेरै ७३९ जनामा संक्रमण देखिएको थियो । बिहीबार यो संख्या ६१८ जना रह्यो ।
दैनिकरुपमा कुल संक्रमित संख्याको झन्डै ५० प्रतिशत संक्रमित उपत्यकाका नै रहने गरेका छन् । संक्रमण समुदायस्तरमा नै गइसकेका कारण प्रतिदिन जोखिम बढ्दो छ ।
कोरोनाभाइरसको संक्रमण बढेको भन्दै तीन सातासम्म निषेधाज्ञा घोषणा गरेका काठमाडौंका तीनै जिल्ला प्रशासन कार्यालयले बिहीबार खुकुलो गरेसँगै सम्पूर्ण बजार, व्यवसायहरु खुलेका छन् भने लामो तथा छोटो दूरीका सम्पूर्ण सवारी-साधन पनि सञ्चालनमा आएका छन् । जसले अब संक्रमितको संख्या थेग्न नसक्ने अवस्था आउनसक्ने चिन्ता बढेको छ ।
संक्रमण घटेर नियन्त्रणमा नआएको अवस्थामा अर्थतन्त्र चलायनमान बनाउने नाममा सार्वजनिक यातायात, बजार सबै खुला गर्दा संक्रमणको जोखिम भोलिका दिनहरुमा झन् बढी रहने निश्चित छ ।
यसैले अब व्यक्तिगतरुपमा सुरक्षा पालनामा थप सावधानी अपनाउनुको विकल्प छैन ।
प्रतिक्रिया दिनुहोस्