
विराटनगर, असोज १ । सरकारले समयमै मल आयात नगर्दा रोपाइँको सिजनमा रासायनिक मल नपाएका मोरङका किसानले धान गोड्ने बेला पनि मल पाउन निक्कै सकस खेप्नुपरेको छ ।
मागअनुसार मल आपूर्ति हुन नसक्दा रासायनिक मलका लागि किसानले सकस खेप्नुपरेको हो ।
इक्राहिका रविलाल यादवले एक बोरा युरिया मल लिन चार दिनदेखि विराटनगर धाइरहनुपरेको छ ।
मल लिन विराटनगरस्थित कदमाहा सहकारी संस्थामा आउनुभएका यादवले मल लिन धेरै सास्ती खेप्नुपरेको गुनासो गर्नुभयो ।
सहकारीले मल आउँछ भनेर पर्खाइरहेपनि कहिले आएको मल बाँड्दा-बाँड्दै सकिने गरेको र कहिले आउँदै नआउने गरेको उहाँको भनाइ छ ।
उहाँमात्रै हैन, विराटनगर–१८, बुधनगरका भुवनेश्वर यादव पनि मल लिन दुई दिनदेखि धाइरहनुभएको छ ।
मल लिन कतिदिन धाउनुपर्ने अझै टुंगो नभएको यादवले बताउनुभयो ।
पर्याप्त वर्षाका भएका कारण समयमै धान रोपाइँ गरेपनि यो वर्ष किसानले रोपाइँका लागि मल पाएनन् ।
धान रोपाइँलाई मल नपाएपनि धान गोडेपछि मल पाउने आशा गरेका किसान एक बोरा युरिया मलका लागि दिनहुँ हैरानी खेप्न बाध्य छन् ।
सरकारले ढिलागरी मल आयात गरेका कारण किसानहरूले धान गोडेपछिमात्रै मल पाउन थालेका छन् । तर, मल लिनका लागि किसानले निक्कै धपेडी व्यहोरनुपरेको छ ।
धानमा रासायनिक मल प्रयोग नगरे उत्पादन घट्ने कारण मल लिन सहकारीमा किसानको भिड लाग्ने गरेको छ ।
विराटनगरमा मलको मूल्य सस्तो भएकै कारण विराटनगर आसपासका मोरङ र सुनसरीका विभिन्न गाउँहरूबाट किसान मल लिन विराटनगर आउने गरेका छन् ।
मोरङका कटहरी, धनपालथान, जहदा, बूढीगंगा गाउँपालिकादेखि मल लिन किसान विराटनगर आउने गर्दछन् ।
यस्तै, सुनसरीका दुहवी, देवानगन्जलगायतका ठाउँबाट पनि मल लिन किसानहरू विराटनगर आउने गरेका छन् ।
यता, साल्ट ट्रेडिङ लिमिटेड विराटनगरका प्रमुख राधेश्याम चौधरी सरकारले अनुदानमा आयात गरेको मलले माग धान्ने अवस्था नभएको बताउनुहुन्छ ।
मागअनुसार मल आयात नहुँदा मल पाउन किसानलाई गाह्रो भएको चौधरीको भनाइ छ ।
चौधरीकाअनुसार नेपालमा वार्षिक सात लाख मेट्रिकटन मलको माग भएपनि सरकारले तीनदेखि चार लाख मेट्रिकटनमात्रै मल आयात गरिरहेको छ ।
यतिमात्रै हैन, आयात गरिएको मल पनि समयमा नआउँदा मुख्य बाली लगाउने सिजनमै मलको हाहाकार हुने गरेको छ ।
सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताएपनि किसानले मलसमेत पाउन सकेका छैनन् ।
समयमै पर्याप्त मल खरिद गरेर किसानलाई पाइकपर्ने स्थानमा मल पुर्याउने व्यवस्था गरे कृषि क्षेत्रको विकासमा सहयोग पुग्ने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्