१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिफा वरीयतामा नेपाल यथावत्


0
Shares

काठमाडौं, आसोज १ । विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा बिहीबार जारी नयाँ वरीयतामा नेपाल १७०औं स्थानमा यथावत् रहेको हो ।

गत महिना पनि नेपाल १७०औं स्थानमै रहेको थियो ।

त्यस्तै, नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् ।

एक स्थान घटुवा भएको भारत १०९औं स्थानमा छ भने माल्दिभ्स १५५औं स्थानमा रहेको छ ।

नेपालभन्दा तल बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंका रहेका छन् । बंगलादेश १८७औं, भुटान १८९औं, पाकिस्तान २००औं र श्रीलंका २०६औं स्थानमा रहेका छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत् रहेको छ भने फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्यान्ड चौथो तथा पोर्चुगल पाँचौं स्थानमा रहेका छन् । पोर्चुगल भने दुई स्थान उक्लिएर पाँचौं स्थानमा पुगेको हो ।

एक स्थान झरेको उरुग्वे छैटौं, स्पेन सातौं, क्रोएसिया आठौं, अर्जेन्टिना नवौं र कोलम्बिया दशौं स्थानमा रहेका छन् ।