
काठमाडौं, असोज २ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ दल नेकपा संविधानको मर्मविपरीत केन्द्रीकृत प्रणालीमा अगाडि बढिरहेको आरोप लगाउनुभएको छ ।
शुक्रबार सर्वोच्च कमान्डर गणेशमान सिंहको स्मृति दिवसमा आयोजित कार्यक्रमका अवसरमा बोल्दै नेता सिंहले दुईतिहाइ बहुमत भएको पार्टी केन्द्रीकृत प्रणालीलाई स्थापित गर्न अगाडि बढिरहेको आरोप लगाउनुभएको हो ।
संविधान कार्यान्वयनको चरणमा भएपनि सरकारको रबैया केन्द्रीकृत प्रणालीमा जानेगरी अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
संविधान दिवसको पूर्वसन्ध्यामा नेता सिंहले देश संघीय संरचनामा गएपनि स्थानीय र प्रदेश सरकारहरुलाई काम गर्न सत्तारुढ दलले बाधा पुर्याइरहेको बताउनुभयो ।
जनताहरु कोरोना महामारीको चपेटामा रहेपनि सरकारले उनीहरुलाई सुरक्षित महसुस गराउन नसकेको उहाँले बताउनुभयो ।
महामारीका बेला गुर्नपर्ने न्यूनतम् कामसमेत सरकारले गर्न नसकेको उल्लेख गर्दै उहाँले औषधि उपकरण खरिदमा समेत घोटाला गरेर जनताको चित्त दुखाइरहेको बताउनुभयो ।
दुईतिहाइनजिकको सरकारले संविधानको भावनाअनुसार संघीय कानुन नबनाइदिँदा स्थानीय सरकारलाई काम गर्न समस्या भएको पनि उहाँले बताउनुभयो ।
२०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २३औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
सो अवसरमा नेता प्रकाशमान सिंहले गणेशमानको फोटोमा माल्यार्पण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्