२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


बस्तीमुनि ठूलो पहिरो, घरका आँगन, कोठा र करेसामा धाँजा (भिडियो)


0
Shares

धादिङ, असोज २ । धादिङको खनियावास गाउँपालिकाको सिङगाङ केराबारीका स्थानीयहरु पहिरोको जोखिम भएको भन्दै घर छाडेर हिँड्न बाध्य भएका छन् ।

ठूलो पहिरोमाथि रहेको बस्तीलाई जुनसुकै बेला पहिरोले तान्ने खतरा हुन थालेपछि स्थानीयहरु थातथलो छाडेर हिँड्न बाध्य भएका हुन् ।

१० घरधुरी रहेको केराबारी बस्तीमुनि ठूलो पहिरो रहेको छ । अधिकांश घरका आँगन, कोठा र करेसामा धाँजा फाटेको छ ।

केराबारी गाउँको ३०० मिटर आसपास जमिन चिरा-चिरा परेर भासिएको छ । भाषिनेक्रम हरेक बर्खायाममा बढ्दो छ ।

पहिरोको कारण बस्ती बगाउने त्रासले गर्दा स्थानीयहरु रातको समयमा निदाउनसमेत सकेका छैनन् । ठूलो पानी पर्दा रातको समयमा बस्ती छाडेर जानुपर्ने बाध्यतामा स्थानीयहरु रहेका छन् ।

यो बस्तीमुनि २०४५ सालदेखि नै पहिरो जान थालेको हो । २०७२ को विनाशकारी भूकम्पपछि भने हरेक वर्ष जमिन भासिनेक्रम बढेको छ ।

पहिरोले केही घरधुरीका खेतीयोग्य जमिन बगाएर सकिसकेको छ ।

एकातिर पहिरोको जोखिमले मनमा त्रास छ, अर्कोतिर पहिरोले जमिन बगाएपछि खेतीपाती गरेर दैनिक जीवनयापन गर्ने किसानहरु समस्यामा छन् ।

पहिरोको रोकथामको लागि अहिलेसम्म कुनै पहल हुनसकेको छैन । तत्काल बस्ती स्थानान्तरण गर्न या पहिरो रोकथामको काम गर्न स्थानीयले माग गरेका छन् ।

केराबारीमा रहेको मानव बस्ती जोखिममा रहेकोबारे स्थानीयले सरोकारवाला निकायहरु सबैलाई सजग गराइसकेका छन् । तर, कसैलेपनि उनीहरुको समस्यामा चासो देखाएको छैन ।

बेलैमा सचेत हुनसके पहिरोले निम्त्याउने धनजनको क्षतिबाट पक्कै बचाउने थियो । केराबारीको यो जोखिमप्रति सम्बन्धित निकायको ध्यान तत्काल पुग्नुपर्ने देखिएको छ ।

भिडियो हेर्नुहोस्