
कैलाली, असोज २ । सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै शुक्रबार पनि जिल्ला प्रशासन कार्यालय कैलालीको मूलगेटमा धर्ना दिइएको छ ।
नेपाल पत्रकार महासंघ कैलालीको अगुवाइमा पत्रकारहरुले सञ्चार सामग्री प्रदर्शन र टाउको तथा हातमा कालोपट्टी बाँधेर प्रशासनको मूलगेटमा धर्ना दिएका हुन् ।
धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउदले सञ्चारगृहमै प्रवेश गरी पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्नुभयो ।
उहाँले आक्रमणमा संलग्नहरुलाई पक्राउ गरी कारबाहीको दायरामा नल्याएसम्म सडक संघर्ष जारी राखिने बताउनुभयो ।
समाचारको विषयलाई लिएर गएको शुक्रबार धनगढीको दिनेश सञ्चारगृहमा प्रवेश गरेर एक समूहले समाचारकक्षमै पत्रकारलाई कुटपिट गर्नुका साथै कर्मचारीमाथि हातपात र दुर्व्यवहार गरेको थियो ।
त्यसपछि आक्रमणमा संलग्नलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै पत्रकारहरु आन्दोलित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्