१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सप्तरीमा बलात्कार आरोपमा दुईजना पक्राउ


0
Shares

सप्तरी, असोज २ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७, ललितपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने दुईजना आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

नेपाल-भारत सीमा क्षेत्र बलान बिहुल गाउँपालिकास्थित बेल्हीबाट आरोपितहरु डाक्नेश्वरी–७ का १९ वर्षीय रञ्जित मण्डल र १८ वर्षीय बब्लु मण्डल पक्राउ परेको इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीका प्रहरी निरीक्षक धर्मराज मुडभरीले बताउनुभयो ।

धानखेतमा पानी कटाउन गएकी किशोरीलाई रञ्जित र बब्लुसहित चारजनाले भदौ २९ गते बिहान सामूहिक बलात्कार गरेको आरोप छ । बलात्कारका अन्य आरोपितहरु धर्म मण्डल र विष्णु मण्डल फरार छन् ।

आरोपितविरुद्ध उजुरी गर्न गाउँको उनकै समुदायका पञ्चहरुले रोक लगाएपछि भदौ ३० गते किशोरीले आत्महत्या गरेकी थिइन् ।

बलात्कारपछि शत्रुघ्न मण्डलको घरमा बसेको गाउँलेहरुको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालयमा घटनाको जाहेरी दिन रोक लगाउँदै आरोपितबाट ५५ हजार क्षतिपूर्ति भराउने निर्णय सुनाएको थियो ।

न्यायको साटो अस्मिताको मूल्य तोकेर क्षतिपूर्ति दिने निर्णयको विरोध गरेकी किशोरीले मानसिक पीडा सहन नसकी आत्महत्या गरेको उहाँकी आमाले बताउनुभयो ।

मृतकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शव परीक्षण गरिएको छ ।

प्रहरीले छलफलमा बस्ने तीनजना पञ्चलाईसमेत पक्राउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा चलाएको छ ।

किशोरी र उहाँकी आमालाई धम्क्याएर बलात्कार घटनामा सहमति गराउन खोज्ने पञ्चमध्येका जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई प्रहरीले भदौ ३० गते नै पक्राउ गरेर मुद्दा चलाएको छ ।

उनीहरुलाई आत्महत्या दुरुत्साहनमा कारबाही थालिएको छ भने पक्राउ परेका बलात्कारका दुई आरोपित रञ्जित र बब्लुविरुद्ध शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइने सप्तरी प्रहरीले जनाएको छ ।