
काठमाडौं, असोज २ । अहिले देशभरि नै बाढी-पहिरोले ठूलो जोखिम निम्त्याएको छ ।
सिन्धुपाल्चोक, बागलुङलगायतका जिल्लामा बाढी पहिरोले जनधनको क्षतिसमेत गरेको छ ।
यस्तै, कास्कीको पोखरा महानगरपालिका वडा नम्बर-२२, पिपलडाली र १७ झुरी चौतारामा घर भ्वाङ पर्दा पाँच घर-परिवार बिचल्लीमा परेका छन् । मानवीय क्षति नभएपनि परिवार घरबारविहीन भएका छन् ।
सोमबार दिउँसो घरमै बसिरहेका बेला घरको दक्षिणतर्फको भागमा एक्कासि ठूलो भ्वाङ परेको स्थानीयले बताएका छन् ।
मंगलबार बिहान भ्वाङको आकार बढेपछि घर छाड्नुपरेको पीडित राधिका विकले बताउनुभयो ।
वडा कार्यालयले अहिले त्रिपाल, कम्बल र केही चामल सहयोग गरेको उहाँले बताउनुभयो ।
पोखरा-२२ का वडासदस्य मात्रिका बरालले समस्यामा परेका स्थानीयहरुको सहयोगका लागि महानगरपालिकासँग समन्वय भइरहेको बताउनुभयो ।
वडाबाट तत्काल अस्थायीरुपमा ‘सेल्टर’ निर्माण गर्ने निर्णय गरिएको र थप सहयोगका विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।
प्राकृतिक विपत्तिले वर्षेनि हुने क्षतिले त्यहाँका स्थानीय त्रासमा बस्न बाध्य छन् ।
घर, सडक, पुल, नहरलगायतका स्थानहरु बढी भासिने गरेकोले समस्या समाधानका लागि आवश्यक योजना बनाएर अगाडि बढ्ने पोखरा महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्