९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


बाबुरामजीको चिन्ता र गोहीको आँसु


0
Shares

-हरिविनोद अधिकारी

पूर्व प्रधानमन्त्री तथा नवगठित समाजवादी पार्टीका केन्द्रीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अपहरित बीपीलाई स्ुरक्षा गर्नका लागि नेपाली काँग्रेसलाई सुझाव दिनु भएछ । यो प्रसङ्ग हो गोरखामा गएर नेपाली काँग्रेसका चर्चित युवा नेता गगनकुमार थापाले गोरखामा बाबुरामजीलाई काँग्रेसले मत दिएर जिताएकोमा क्षमापूजा गर्ने कुराको जबाफ । सबैलाई यादै छ, २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा गोरखा क्षेत्र नंबर १बाट बाबुरामजी नयाँ शक्ति पार्टीको उम्मेदवार बन्नुभएको थियो र नेपाली काँग्रेसले चुनाबी गठबन्धन गर्दै उहाँलाई प्रतिनिधि सभामा जान बाटो सहज बनाएको थियो । उहाँको प्रतिस्पर्धी नेकपामा हालका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश हुनुहुन्थ्यो । प्रकाशले कुनै प्रसङ्गमा बाबुरामजीलाई गोरखाको पालुङटारको वार्ड सदस्यमा समेत हराउने कुरा भन्नु भएको भनेर नेपाली प्रेसमा आएको थियो । एकातिर संविधान बन्ने बित्तिकै बाबुरामजीले तत्कालीन माओबादी केन्द्र परित्याग गर्नु र त्यो पार्टीको तर्फबाट जितेको साँसद पदसमेतबाट राजीनामा दिनु भएको थियो । नयाँशक्ति नामक दल खोलेर उहाँ त्यसको संयोजक बनी दलको स्रञ्चालन गर्दै हुनुहुन्थ्यो । त्यो बेलामा राजनीतिक साखका लागि डाक्टर भट्टराईलाई जसरी पनि जित्नु थियो किनभने पार्टी छोडेपछि प्रकाशले हेप्दै वार्ड अध्यक्षमा समेत हराउने जो ध्वाँस दिएका थिए ।

नेपाली काँग्रेसभित्रका गोरखाका मतदाताहरु यति दिक्क भएका थिए कि जनयुद्धका जनसरकार प्रमुखलाई नेपाली काँग्रेसले आफ्नो समर्थन गरेको थियो र त्यहाँ कुनै उम्मेदवार समेत उठाएको थिएन ,बाबुरामजीलाई पूर्ण समर्थन गरेको थियो । कसरी दिने माओबादीलाई भोट भन्ने उकुुस मुकुस भएकै बेलामा कम्युनिस्ट गठबन्धन भएर साझा उम्मेदवार उठेका प्रकाशका पक्षमा मत माग्न जाँदा तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले यहाँ क्राँगे्रस पनि छन् र भनेर टाउको घुमाई घुमाई व्यँग्य गरेपछि काँग्रेसले मेख मार्न पनि डाक्टर बाबुरामजीलाई मत दिएर जिताएका थिए भनिन्छ । उनै बाबुरामले उपप्रधानमन्त्री उपेन्द्र यादवको दल संघीय समाजवादी फोरमसँग एकता गरेर समाजवादी पार्टी बनाएपछि काँग्रेसको अब काम सकियो, म्युजियममा राख्नुपर्छ भनेको जबाफमा गगन थापाले पनि क्षमापूजाको कुरा  गरेको बुझ्न सकिन्छ ।

यसैबीच राप्रपाका अध्यक्ष कमल थापाले बीपीको राष्ट्रिय मेलमिलाप उहाँको दलको मार्गदर्शक सिद्धान्त हुने कुरामा बाबुरामजीले अपहरित बीपीलाई रक्षा गर्नुस्, क्षमापूजा गर्दै गरुँला भनेर जबाफ दिनु भएको थियो भने युवा नेता गगन थापाले माओबादीको जनयुद्धबाट मारेर समाप्त गर्न लागेको बीपीवाद त समाप्त भएन भने कमल थापाले केही पनि गर्न सक्नु हुन्न भनेर पनि जबाफ दिएको पाइयो । अनि कमल थापाले पनि किन खैलाबैला , बरु काँग्रेस त खुसी हुनपर्ने भनेर व्यंग्य गरेको पनि पाइयो ।

यसमा एउटा कुरा त गगन थापाले भनेको साँचो हो-हिजो तत्कालीन माओबादीले जनयुद्ध गर्दाको पहिलो निशानामा प्रजातन्त्र नै थियो र मारिनेमा काँग्रेस नै बढी थिए । आज पनि कतिपय काँग्रेसका जग्गा जमिन फिर्ता भएका छैनन् जसको कार्यान्वयनको जिम्मा तत्कालीन जनसरकारका प्रमुख बाबुरामजी नै हुनुहुन्थ्यो । अहिले उहाँले त्यो पुरानो पार्टी छोडे पनि हिजोको जबाफदेहीबाट पन्छिन सक्नुहुन्न र बेलामौकामा उहाँँका वाणीहरु प्रजातन्त्रका पक्षमा भन्दा अन्यत्र नै सोझिएका देखिन्छन् । मुलुकले उहाँलाई प्रधानमन्त्री जस्तो गरिमामय पद दिइसकेको छ, तर झिना मसिना कुरामा अल्झिनु भन्दा हिजोको जनयुद्ध गर्ने पार्टीसँग नाता तोडिसकेको अवस्थामा त्यसप्रति पश्चाताप गर्दै नयाँ नयाँ प्रक्रियाको अनुसन्धान नेपालीहरुले चाहेका छन् । नेपाली काँग्रेससँग सबै सहयोग लिने अनि गाली गर्दै हिँड्न सायद उहाँलाई सुहाउँदैन । सायद रसुवामा उहाँबाट काँग्रेसले सहयोग पाएको थियो क्यार, तर गोरखामा नै पाइएन भन्ने गुनासो अझै छँदैछ क्यार काँग्रेसमा । एउटा कुराचाहिँ मान्नैपर्छ बाबुरामजी राजनीतिकरुपमा सक्षम योजनाकार भए पनि यता केही समयदेखि चन्चलता चाहिँ देखिन्छ राजनीतिक दल बनाउने र नयाँ नयाँ बदल्नेमा । उहाँबाट सकारात्मक राजनीतिको आशा गरिएको हो, गाली गलौज र नकारात्मक टिप्पणी होइन । प्रजातन्त्र कसैको पेवा त होइन, अझै बाबुरामजीको त्यसमा अनुशीलन पुगेको छैन भनेर भने बेठीक हुँदैन ।

वास्तवमा बीपीको राष्ट्रिय मेलमिलाप नीति न त कमल थापाजीले भनेको जस्तो  राजा फेरि पुनरागमन गराउने नीति बन्न सक्छ, न त अरुले बीपीको प्रजातान्त्रिक समाजवाद अपनाए भनेर डराउनै पर्ने कुरा छ । बीपीको सिद्धान्त भनेको मूलतः विश्वव्यापी प्रजातान्त्रिक मूल्य र मान्यतामा अडिग समानताको समावेशी सिद्धान्तमा अडिएको जनप्रतिनिधिमूलक व्यवस्था हो । आजभन्दा ४० वर्ष अघिको नेपाली अवस्थालाई इँगित गरी राष्ट्रियता र प्रजातन्त्रलाई एकीकृत गर्न प्रजातन्त्रले मात्र सम्भव भन्ने रणनीतिअन्तर्गत राष्ट्रिय मेलमिलापको नीति लिएर फाँसीको फन्दासमेतलाई वास्ता नगरी बीपी स्वनिर्वासनबाट नेपाल फर्कनु भएको थियो । त्यो बेलामा बीपीको झिनो स्वरभित्रको अपरिमित तागतलाई अलिकतिमात्र ध्यान दिएको भए सायद यो देशबाट राजतन्त्र जाँदैनथ्यो र आज कमल थापाजीहरुले राजतन्त्रको पुनर्बहालीका लागि आन्दोलन गर्नेसम्मको अवस्था आउने थिएन होला । फेरि राजतन्त्र पुनर्बहाल हुन सक्ला, नसक्ला, त्यो अबका दिनमा गरिने राजनीतिक व्यवहारले देखाउला तर सम्माननीय प्रधानमन्त्रील केपी शर्मा ओलीले राजतन्त्रका वारेमा बोल्नेहरु मूर्ख हुन् भनेर घोषणा गरिसक्नु भएको छ ।

दुई तिहाई साँसदका मतको प्रधानमन्त्रीजीले घोषणा गरिसकेपछि बल्ल कमल थापाजीहरुले थाहा पाउनु भएछ-नेपाल त वैधानिकरुपमा नै कम्युनिस्टको कब्जामा परिसकेछ । बीपीले त प्रजातन्त्रका विरुद्धमा कम्युनिस्ट संगठन गर्नका लागि  पन्चायतले  दिएको सहयोगका कारणले नै तिनै कम्युनिस्टले राजतन्त्र समाप्त पार्छन् भनेर भनेको कुरा नै कमरेड अदितको सिद्धान्तजस्तै मान्नु भएको थियो । त्यो बेलामा कमल थापाजीहरु बीपी चढेको प्लेन समेत  बस्न नदिने, बीपीले रुख रोप्ने कुरा गर्नु भयो भने सके रुख रोप्नै नदिने , रोपी हाले रोपेको रुखनै उखेलेर फाल्ने नीतिमा लाग्नुभयो र राजाले बाध्यतावश दिएको जनमतसंग्रहमा समेत झेली गरेर बहुदललाई हराउन तिर लाग्नु भयो । आज त्यही विरुवा हुर्केर यो कब्जाको अवस्था आएको हो । अनि हिजो केपी शर्मा ओली, शेरबहादुर देउबाको सरकारमा ढलीमली गरेर सत्तामा बस्न पाउँदाको स्वाद बिर्सनु भएकोले होला, फेरि राजतन्त्रको समीकरण उहाँलाई सम्झना भएको रहेछ ।

कुरो कमल थापा र गगन थापाका बीचको विवाद होइन, बीपीको सिद्धान्त कसको हो भन्ने विवाद हो । बीपीको सिद्धान्तमा अहिलेसम्म नेपाली काँग्रेसको अधिकार छ तर बीपीको प्रजातान्त्रिक धारलाई छोडेर अवसरवादितामा काँग्रेस लाग्यो भने वा सत्ताका लागि प्रजातन्त्रका तत्वहरुप्रति नै आघात गर्न थाल्योभने पक्कै नै बीपी विचार काँग्रेसको मात्र रहने छैन । बीपी विचार भनेको नेपाली माटोमा मात्र होइन, संसारमा नै प्रचलनमा ल्याउन सकिने सामाजिक प्रजातन्त्रको नयाँ धार थियो जसले तेस्रो विश्वको प्रतिनिधित्व गथ्र्यो । बीपी विचारप्रति नेपालमा वा कतै राम्रोसँग अनुसन्धान नै हुन सकेको छैन । त्यसमा नेपाली काँग्रेसले ध्यान दिएर अनुसन्धानलाई तीब्रता दिनु पर्ने हो, बीपीका नाममा खुलेका सँस्थाहरुले ध्यान दिनु पर्ने हो , खोइ किन हो । वास्ता गरिएको पाइएन । वास्ता पनि किन गर्नु, सत्तामा नेपाली जनताले बारम्बार बीपीकै नाममा पुर्‍याइदिएकै छन् ।

अहिलेको अवस्थामा बीपीका वारेमा न बाबुरामजीले धेरै चिन्ता गर्नु जरुरी छ, न त कमल थापाजीलाई बीपीको सिद्धान्त मान्न कसैले रोकेको छ । गगन थापाले भनेजस्तै राजा महाराजा, कम्युनिस्टहरुको पेलानबाट समेत, मित्रदेशका शासकहरुबाट समेत पेलिएर, दबाबमा परेर तर निखारताका साथ प्रजातान्त्रिक समाजवादले नेपालमा जरा गाडेकै छ गतिशील प्रजातान्त्रिक सिद्धान्तको रुपमा । अहिलेसम्म नेपाली काँग्रेसले त्यसलाई बोकेको र कार्यान्वयनमा केही हदसम्म भए पनि गरेको देखिन्छ ।

बीपीका समसामयिक धारणाहरुलाई विना पूर्वाग्रह नेपाली राजनीतिमा प्रयोग गर्ने जिम्मा सबै नेपालीको हो । जनप्रतिनिधिमूलक राजनीतिक व्यवस्थाका लागि आजीवन लडिरहने बीपीका लागि नेपालको अमरत्व र विकास नै प्रमुख आस्था थियो, सिद्धान्त थियो र व्यवहार थियो । जीवनको अन्ततिर रोगले पनि ग्रस्त बनाउँदा समेत मुलुक र नेपाली जनताको सेवारत मनीषी बीपीका प्रति सबैले सम्मान गर्न पाउँछन् तर उहाँको सिद्धान्तलाई गलत व्याख्या र प्रयोग गर्न भने पक्कै पाइँदैन जसको कडा प्रतिवाद गगन थापाले गरेको हुनसक्छ ।

अन्तमा, न त नेपाली राजनीतिमा नेपाली काँग्रेसलाई कसैले म्युजियममा राख्न चाहँदा राखिने सँस्था हो, न त नेपाली काँग्रेसका सँस्थापक नेताहरुका धारणालाई कसैले प्रयोग गर्छु, हामी बीपीका सिद्धान्तप्रति नतमस्तक छौँ र बीपीबादी हुन चाहन्छौँ भन्नलाई कसैलाई रोक्न सकिन्छ । रोक्ने पनि कसरी र ? तर बीपीप्रतिको सम्मान भनेको प्रजातन्त्र र नेपाली राष्ट्रियताप्रतिको सम्मान हो जसमा समानता, मानवअधिकारसहितको जनप्रतिनिधिमूलक शासनप्रणाली सजीव हुन्छ । यदि नेपाली काँग्रेस जुन सँस्थालाई उहाँले जन्माउनु भयो, यदि त्यही सँस्था पनि उहाँका आदर्शप्रति विमुख भयो भने बीपीवादी हुनसक्दैन ।