१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विपन्न उपचारबाट वञ्चित (भिडियो)


26
Shares

प्यूठान, असोज २ । स्वास्थ्य उपचार पाउनुपर्ने नागरिकको मौलिक अधिकार हो ।

तर, आर्थिक अवस्था कमजोर भएका प्यूठानका विपन्न परिवार स्वास्थ्य उपचारबाट वञ्चित हुँदै आएका छन् । उपचार नपाएर विपन्न परिवार अकालमै ज्यान गुमाउन बाध्य छन् ।

प्यूठान नगरपालिका–८ की ४० वर्षीया दुर्गा गिरीलाई श्रीमानले चक्कु प्रहार गरी गम्भीर घाइते बनाए ।

गम्भीर घाइते भएकी दुर्गा दुई महिनादेखि मनमोहन मेमोरियल अस्पताल काठमाडौंमा उपचाररत् छिन् । गिरीको आन्द्रा, फोक्सोमा असर परेको छ । उनको अहिलेसम्म आठ लाख रुपैयाँ सकिएको छ ।

तर, आर्थिक अवस्था कमजोर हुँदा उनले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आएको छ । अहिले विभिन्न व्यक्ति तथा संस्थाको सहयोगबाट उपचार गराइरहेकी छिन् ।

त्यस्तै, झिमरुक गाउँपालिका–४, वांगेमरोटका ३५ वर्षीय प्रकाश जिसीको पनि आर्थिक अभाव हुँदा उपचार गर्न समस्या भएको छ ।

दुई वर्षअघि उनको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनले नियमितरुपमा डायलासिस गर्दै आएका छन् । तर, अहिले आर्थिक अभावले डायलासिस गर्न समस्या भएकाले मृत्युसँग लडिरहेका छन् ।

सरकारले डायलासिस सेवा निःशुल्क गरेपनि औषधि खरिद गर्न समस्या भएको छ । डायलासिस गर्दा मासिक २० हजारसम्म लाग्ने गरेको छ ।

आर्थिक अवस्था राम्रो हुनेहरुले मिर्गौला प्रत्यारोपण गरेर नयाँ जीवन पाएपनि आर्थिक अभावकै कारण आफन्तले मिर्गौला दिन्छुभन्दा पनि प्रत्यारोपण गर्न समस्या भएको छ ।

डायलासिस गर्दा लाग्ने खर्च जुटाउनै समस्या भएका उनलाई प्रत्यारोपणमा लाग्ने १५ लाख रुपैयाँ जुटाउन सपनाजस्तै भएको प्रकाश जिसी बताउँछन् ।

यी त प्रतिनिधि घटनामात्रै हुन् । आर्थिक अभावकै कारण कतिले त रोग लुकाएरै बस्ने गरेका छन् भने कतिपयलाई समुदायस्तर तथा संघ-संस्थाबाट आर्थिक संकलन गरेर उपचार गराइरहेका छन् ।

पहुँचवाला नेता र मन्त्रीले जनताले तिरेको कोषबाट उपचार गराइरहेका छन् भने जनताले पैसा अभाव हुँदा उपचारबाट वञ्चित हुनुपरेको छ । सरकारले यस्ता विपन्न परिवारको उपचार निःशुल्क गर्नुपर्ने आवश्यक छ ।

भिडियो हेर्नुहोस्