२ बैशाख २०८२, मंगलबार | Wed Apr 16 2025


‘विप्लव’का दाइ ‘वीरजंग’लाई कोरोना, जीवनरक्षाको अपील


0
Shares

काठमाडौं, असोज ३ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता चन्द्रबहादुर चन्द ‘वीरजंग’लाई कोरोनाभाइरसको संक्रमण भएको छ ।

वीरजंगका भाइ जयन्द्र चन्दले वीरजंगलाई कोरोना संक्रमण भएको पुष्टि गर्नुभएको हो ।

तीनजना दाजु-भाइमा वीरजंग जेठो, जयन्द्र माइलो र विप्लव कान्छो हुनुहुन्छ ।

वीरजंगको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

दाङबाट वीरजंगसँगै पक्राउ परेका २१ जनालाई प्रहरीले छाडेपनि उहाँलाई भने छाडिएको छैन । उहाँलाई दाङबाट सुनसरी हुँदै भोजपुर र संखुवासभा पुर्‍याएको उहाँका भाइ जयन्द्रले बताउनुभयो ।

त्यहाँ उहाँलाई ज्वरो आउने र टाउको दुख्ने भएपछि कोरोनाको ‘पीसीआर’ परीक्षण गर्दा ‘पोजिटिभ’ देखिएकाले बीपीमा राखेर उपचार भइरहेको हो ।

जीवनरक्षाको माग
वीरजंगकी श्रीमती राजकुमारीले आफ्ना पतिको जीवनरक्षाको माग गर्नुभएको छ । उहाँले सर्वोच्च अदाललते छाड्न आदेश दिएपनि सरकारले राजनीतिक प्रतिशोध साँध्नका लागि आफ्नो पतिलाई नछाडेको भन्दै सञ्चारमाध्यमसहित मानवअधिकारकर्मीहरुलाई उहाँको जीवनरक्षाको अपील गर्नुभएको हो ।

१० वर्षे सशस्त्र द्वन्द्वका बेला सशक्त कमान्डर रहनुभएका वीरजंगका कान्छा भाइ विप्लवले माओवादी त्यागेपछि आफैं पार्टी सञ्चालन गरी भूमिगत रहनुभएको छ । सरकारले उहाँको पार्टीलाई प्रतिबन्ध लगाएको छ ।