
काठमाडौं, असोज ३ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले संविधानको रक्षा र कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसको भएको बताउनुभएको छ ।
गणेशमान सिंह अध्ययन प्रतिष्ठानले संविधान दिवसका अवसरमा शनिबार आयोजना गरेको ‘संविधान, लोकतान्त्रिक पद्धति र सरकारको कार्यशैली’ विषयक ‘भर्चुअल’ अन्तरक्रियामा उहाँले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने जिम्मा कांग्रेसको भएको बताउनुभएको हो ।
पूर्वमन्त्रीसमेत रहनुभएका नेता जोशीले सरकारले संविधानको मर्म र भावनाविपरीत काम गरेको आरोपसमेत लगाउनुभयो ।
कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले संविधानको निःशर्त पालना गर्नमा सरकार चुकेको बताउनुभयो ।
‘वर्तमान सरकार संविधानलाई कमजोर पारेर आफूअनुकूल केन्द्रीकृत शासन प्रणालीतर्फ उन्मुख भएको छ’-उहाँले भन्नुभयो ।
राजनीतिक विश्लेषक लोकराज बराल, पत्रकार प्रतीक प्रधान, कांग्रेस पर्साका सभापति अजय द्धिवेदीलगायतले बहुमतका आधारमा सरकारले विधेयकलाई पारित गर्दै गएर संविधानको उपहास गर्न खोजेको बताउनुभएको थियो ।
उहाँहरुले संविधानलाई सर्वस्वीकार्य बनाउँदै अगाडि बढ्नुपर्ने धारणासमेत राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्