
काठमाडौं । करिब छ महिनापछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदैछ ।
सोमबारदेखि हुने उडानका लागि नियामक उड्डयन प्राधिकरणले सबै तयारी पूरा भएको जनाएको छ ।
उडान सञ्चालनका लागि निर्धारण गरिएको सम्पूर्ण स्वास्थ्य मापदण्ड विमानस्थलमा अपनाइएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो ।
कोभिड–१९ सङ्क्रमण रोकथामस्वरूप सरकारले आन्तरिक उडानमा लगाएको प्रतिबन्ध भदौ २९ को मन्त्रिपरिषद्को बैठकले पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने बाटो खुला गरे पनि वायु सेवा सञ्चालकले तयारी पूरा नभएको र ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने अडान राखेपछि पाँच दिनपछि सरेको हो ।
लामो समयपछि खुला भए पनि आन्तरिक उडानको टिकट बुकिङ उत्साहजनक भइरहेको कम्पनीहरुले जनाएका छन् ।
यति एयरका लागि सोमबारको उडानका लागि ७० प्रतिशतसम्म टिकट बुकिङ भएको छ ।
त्यस्तै बुद्ध एयरका अनुसार आइतबार दिउँसोसम्म ८० प्रतिशत टिकट बुकिङ भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्