काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रालयसँग सम्बन्धित विषयमा जानकारी र निगरानी गरी सरकारबाट भएका गैरउत्तरदायी कार्यहरुबारे जनतालाई सूचित गर्न र सरकारलाई खबरदारी गर्न आफ्ना सांसदलाई क्रियाशिल रहन निर्देशन दिएको छ ।
काँग्रेस संसदीय दलले छायाँ सरकारका रुपमा क्रियाशिल रही कार्य सम्पादन गर्नका लागि गठन गरेका पार्टीका मन्त्रालयस्तरीय समन्वय समितिका संयोजकलाई आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा खबरदारी गर्न सो निर्देशन दिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभएको हो ।
काँग्रेसले सरकार, मन्त्रालय र मातहत निकायबाट भएका बेथिति, अनियमिता, भ्रष्टाचारको जानकारी र निगरानी राख्ने, त्यसको खबरदारी गर्ने र आम जनसमुदायलाई सूचित गर्ने कार्य प्रमुख प्रतिपक्ष दलको कर्तव्य भएको उल्लेख गरेको छ ।
काँग्रेसले अहिलेको विषम एवम् दुःखद परिस्थितिमा सरकारले प्रभावकारी कार्य गर्न नसकेको र सदन पनि चालु नरहेको अवस्थामा जनताका समस्याबारे आवाज उठाउन र सरकारलाई प्रत्यक्ष रुपमा खबरदारी गर्न समन्वय समितिका संयोजकलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्