१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


पौडेल र सिटौला समूहबीच मोर्चाबन्दीको प्रयास, गगन थापाहरुलाई फकाइँदै


0
Shares

काठमाडौं, असोज ५ । नेपाली कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहबीच मोर्चाबन्दीको प्रयास भइरहेको छ ।

सभापति शेरबहादुर देउवाले विधानविपरीत पार्टी सञ्चालन गरेको आरोप लगाइरहेका दुवै समूहले एकै मोर्चामा उभिएर देउवाविरुद्ध लड्ने प्रयास थालेका हुन् ।

देउवाको शक्तिसञ्चयलाई तोड्न कस्सिएको पौडेल समूह महाधिवेशनको सम्मुखमा सभापतिले गरेका निर्णयहरु खारेज गराउन सिटौला समूहको साथ खोजेको हो ।

तेस्रो अर्थात् सिटौला समूहको सहयोगविना पार्टीभित्र आफू बलियो हुन नसक्ने ठम्याइ पौडेल पक्षमा छ ।

महाधिवेशनको सम्मुखमा विभाग तथा क्रियाशील सदस्यताको नाममा शक्तिसञ्चय गर्नुभएका सभापति देउवालाई टक्कर दिन बहुमतबाटमात्र सम्भव भएको बुझाइ पौडेल समूहको हो ।

तेस्रो समूहका प्रभावशाली नेताहरु गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरीलाई मनाएर एलाइन्स बनाइ अघि बढ्ने तयारीमा पौडेल समूह जुटेको हो ।

निर्वाचन समितिलाई पार्टी समायोजन गर्न नदिएर केन्द्रबाट अनुचित दबाब दिएको, विधि र प्रक्रियाबाहिर गएर क्रियाशील सदस्यता वितरण गरेको, जनसम्पर्क समिति र भातृसंस्थाको म्याद थपेर पार्टी कब्जा गर्ने खेलमा सभापति लागेको आरोप पौडेल समूहको छ ।

यता, तेस्रो समूह पनि सभापतिको स्वेच्छाचारिता बढेको तथा पार्टीमा व्यक्तिवाद हावी भएको निष्कर्षमा छ । मोर्चाबन्दीको आधारविन्दु पौडेल समूहले यसैलाई बनाएको हो ।

सभापति देउवालाई गलाउन पौडेले समूहले अनशन बस्नेदेखि केन्द्रीय सदस्यबाट राजीनामा दिनेसम्मको कार्यक्रम तय गरेको छ । यसमा तेस्रो धारका नेताहरुले पनि साथ दिने वचन दिएका छन् ।

विधानविपरीत भनिएका सबै निर्णय खारेज गर्न इतर समूहले दिएको सम्पूर्ण दबाबले पार्टीमा कुनै असर परेको छैन ।

तर, कोभिड देखाएर महाधिवेशनको भविष्य अन्योलनमा पार्ने प्रयासहरु भएका छन् ।

कार्यकाल दोहोर्‍याउने ध्येयमा रहनुभएका सभापति देउवाको पछिल्ला कदमहरु र देउवाको विरोध गर्ने पौडेल समूहको रणनीति दुवै पार्टीको १४औं महाधिवेशनमा मत तान्ने रणनीति हो ।

आमन्त्रित केन्द्रीय सदस्य र विभागहरुमा आफ्नो भाग लिइसकेको सिटौला समूहले पौडेल समूहसँग सजिलै मोर्चाबन्दी गर्छ गर्दैन भन्ने अहं प्रश्न हो ।

भिडियो हेर्नुहोस्