तम्घास, असोज ५ । नेपाली कांग्रेस कार्यकर्ता र प्रहरीबीच गुल्मीमा सोमबार झडप भएको छ ।
पार्टी कार्यालय, बीपी स्मृति भवन क्याम्पसरोडबाट निकालिएको र्याली भीमचोक, पुतलीबजार हुँदै जिल्ला प्रशासन कार्यालयअगाडितर्फबाट प्रशासन कार्यालयभित्र जान खोज्दा प्रहरीसँग झडप भएको हो ।
झडपमा कांग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, कांग्रेस क्षेत्र नम्बर २ ‘क’का सभापति पूर्ण केसी, नेता श्रीप्रसाद भलामीलगायत घाइते भएका छन् ।
झडपमा दुई प्रहरीसहित छजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार रेसुंगा नगरपालिका वडा नम्बर-१२ मा रहेको रानीपोखरी निम्नमाध्यमिक विद्यालय भत्किएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत् काम हुने गरी चारकाठे भवनको काम गर्नका लागि रु ७० लाख ४० हजार बजेट विनियोजन भएको र बजेटको कार्यान्वयनका लागि विद्यालयमा सर्वदलीय तथा सर्वपक्षीय भेलाको आयोजना भएकामा साउन ९ गतेको भेलाले पुरानो भवन भत्काउने र साउन २५ गतेको भेलाले विद्यालय व्यवस्थापन समितिको रेखदेखमा नयाँ भवनको निर्माण सुरु गर्ने निर्णय भएको थियो ।
व्यवस्थापन समितिमार्फत् हुने कुनैपनि काममा ठेक्का दिन नपाइने नियम भएपनि निर्माण समितिले विनोद विकलाई रु १६ लाख ५० हजारमा अघोषितरुपमा भदौ १५ गते निर्माणको जिम्मा दिएपछि सो झडप भएको बताइएको छ ।
स्थानीयबासी गिरिप्रसाद महाकिमले वडाध्यक्षलगायतको समूहले ठेकेदारमार्फत् काम गराएर विद्यालयको रकम हिनामिना गर्न खोजेको आरोप लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्