
बिराज रोस्यारा (इमेज)
कैलाली, साउन १ । प्रदेश नम्बर–७ का पर्यटन व्यवसायी तथा सरोकारवालाले सीमानाका र धनगढी विमानस्थलको स्तरोन्नतिलाई पहिलो प्राथमिकतामा राख्न माग गरेका छन् ।
प्रदेश नम्बर–७ को पर्यटन प्रवद्र्धनका विषयमा भएको छलफलमा सहभागीहरुले प्रदेश–७ को पर्यटन विकासका लागि संघीय सरकारले चासो नदिएको आरोप पनि लगाएका छन् ।
पर्यटन व्यवसायी तथा सरोकारवाला निकायहरुले प्रदेशको विकास पर्यटन विकासबाट हुने बताएका छन् ।
भौतिक संरचना, सडक सञ्जाल, नेपाल–भारत नाका र विमानस्थलको स्तरोन्नति हुन नसक्दा अपेक्षित पर्यटक आउन नसकेको उनीहरुले बताएका छन् ।
नाटा ७ नम्बर प्रदेशका अध्यक्ष मायाप्रकाश भट्टले नेपाल–भारत सडक सञ्जाल, पर्यटन बोर्डको प्रदेश कार्यालय, पर्यटन विभागलगायतका विषयमा केन्द्र सरकार गम्भीर नभएको आरोप लगाए ।
७ नम्बर प्रदेशमा पर्याप्त पर्यटकीय क्षेत्र रहेर पनि यसको प्रवद्र्धन हुन नसकेको पर्यटन व्यवसायीले बताएका छन् ।
भारतीय पर्यटकका लागि मानसरोवरसम्मका लागि सडक सञ्जाल विस्तार गर्नसके प्रदेशमा लाखौं पर्यटक भित्र्याउन सकिने प्रदेशसभा सदस्य डिल्लीराज जोशीले बताए ।
उनले गौरिफन्टा, वनबासा, खाक्रौला हुँदै बझाङको उरैभंज्याङसम्म पुग्ने सडक निर्माण पहिलो प्राथमिकतामा हुनुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले प्रदेश नम्बर–७ मा रहेका नदीनाला तथा ताल–तलैयाहरुको बढीभन्दा बढी सदुपयोग गर्नुपर्ने बताए ।
संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले प्रदेश–७ को पर्यटन विकासका लागि केन्द्र सरकारले कुनै कसर बाँकी नराख्ने आश्वासन दिए ।
प्रतिक्रिया दिनुहोस्