७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ? काठमाडौंमा मात्रै ५११ थप


0
Shares

काठमाडौं, असोज ६ । नेपालमा मंगलबार एक हजार ३५६ जना कोरोना संक्रमित थपिएका छन् ।

४५९ महिला र ८९७ पुरुष गरी थप एक हजार ३५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा देशका ४९ जिल्लामा ती संक्रमित थपिएका हुन् । त्यसमध्ये करिब आधा अर्थात् ६४७ जना काठमाडौं उपत्यकाका मात्रै रहेका छन् ।

काठमाडौं जिल्लाका मात्रै थप ५११ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा ७३ र भक्तपुरमा थप ६३ जनामा संक्रमण देखिएको छ ।

यस्तै, प्रदेश नम्बर-१ का सुनसरीमा ७७, मोरङमा ५७, झापामा २०, संखुवासभामा चार, भोजपुरमा दुई र उदयपुर, तेह्रथुम र धनकुटामा थप एक/एकजनामा संक्रमण देखिएको छ ।

प्रदेश नम्बर-२ का सिरहामा ३३, बारामा १५, धनुषा र पर्सामा ११/११, सप्तरीमा आठ, रौतहटमा चार र सर्लाहीमा एकजना संक्रमित थपिएका छन् ।

वाग्मती प्रदेशमा काठमाडौं, भक्तपुर र ललितपुरबाहेक काभ्रेमा ३०, चितवनमा २२, रामेछापमा नौ, मकवानपुरमा आठ, दोलखामा चार, धादिङमा तीन सिन्धुपाल्चोक र सिन्धुलीमा दुई/दुई र नुवाकोटमा थप एकजनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशका तनहुँमा २५, बागलुङमा १६, कास्कीमा १५, लमजुङमा छ, स्याङ्जामा चार, पर्वतमा तीन र गोरखामा दुईजना संक्रमित थपिएका छन् ।

यसैगरी, प्रदेश नम्बर-५ का रुपन्देहीमा ७४, बाँकेमा ५८, बर्दियामा २७, रुकुम पूर्वमा २५, दाङ र कपिलवस्तुमा १९/१९ जना, रोल्पामा १५, नवलपरासी, पाल्पा र प्यूठानमा आठ/आठ तथा गुल्मी र अर्घाखाँचीमा दुई/दुईजनामा संक्रमण देखिएको छ।

कर्णाली प्रदेशका सुर्खेतका ४४ र दैलेखमा एकजना संक्रमित थपिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरमा थप एकजनामा संक्रमण देखिएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।

मृत्यु

पछिल्लो २४ घन्टामा देशभर कोरोनाभाइरसको संक्रमणबाट दुईजनाको मृत्यु पुष्टि भएको छ । काठमाडौंका ५० वर्षीय पुरुष र काभ्रेकी ५० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा आजसम्म कोरोनाका कारण ४२९ जनाले ज्यान गुमाएका छन् । यो कुल संक्रमित ०.६४ प्रतिशत हो ।

‘डिस्चार्ज’

पछिल्लो २४ घन्टामा देशभरबाट ८२३ जना कोरोनालाई जितेर ‘डिस्चार्ज’ भएका छन् । योसहित निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ । यो कुल संक्रमितको ७२.१३ प्रतिशत हो ।

हाल देशभर १८ हजार १४२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।