१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दिदी-बहिनी झरनामा मनै हरर !


260
Shares

इलाम, असोज ६ । गर्मी मौसम । त्यसमा पनि झरनामा रमाउने इच्छा कसको पो नहोला र ?

यतिबेला इलामको पुवामझुवाको महभीरस्थित दिदी-बहिनी झरनामा झुमेर पुलकित हुने आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।

स्थानीय बासिन्दाको सक्रियतासँगै झरना पुग्न सहज भएपछि पर्यटकको रोजाइ बन्न थालेको हो ।

नेपालको अनेक पर्यटकीय गन्तव्यहरुमध्येको एकमा पर्नेे इलामको दिदी-बहिनी झरनामा अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

मेची राजमार्गअन्तर्गत् इलामको बाघखोरबजारदेखि करिब दुई किलोमिटर कच्चीसडकको यात्रामा पुगिने उक्त क्षेत्रमा दुईओटा झरना रहेका छन् । दुवै झरना नजिकमा रहेकाले दिदी-बहिनी झरनाको नामांकरण गरिएको हो ।

दुवै झरनाको दुरी र उचाइ भने हालसम्म मापन गरिएको छैन । ठूल्ठूला चट्टानका बीचबाट झरेको झरना निकै आकर्षक र सुन्दर देखिन्छ भने यही सौन्दर्यले पर्यटकलाई मोहित बनाउने गरेको छ ।

साना-ठूला सवारी-साधनहरु झरनाछेउसम्म पुग्ने भएकाले आन्तरिक पर्यटकको अहिले भिड लाग्न थालेको हो ।

त्यहाँ अहिले दैनिक सयौंको संख्यामा पर्यटकहरु आउने गरेको र अझ प्रचारप्रसार गर्नसके इलामको प्रमुख पर्यटकीय क्षेत्र बन्ने स्थानीयको भनाइ छ ।

पहिले सडक नभएकाले कष्टकर यात्रामा फाट्टफुट्टमात्र मानिसहरु झरना पुग्ने गर्दथे । तर, अहिले सडकको सुविधासँगै दैनिक सयौंको संख्यामा पर्यटकहरु झरना पुग्ने गरेका छन् ।

अन्य दिनभन्दा शनिबार सार्वजनिक बिदा पर्ने भएकाले कर्मचारीहरुसमेत बिदा मनाउन तथा पारिवारिक घुमघामका लागिसमेत दिदी-बहिनी झरना पुग्न थालेका हुन् ।

इलामको पर्यटन प्रवर्द्धनमा यस्तो मन नै लोभ्याउने झरनाको महत्वपूर्ण स्थान रहेको छ ।

स्थानीय बासिन्दाहरु झरनाको प्रचारप्रसार तथा संरक्षणमा जुटेसँगै झरनाको चर्चा पनि चुलिँदै गएको छ । चर्चा चुलिएसँगै झरनामा पुगेर तस्वीर लिनेहरुको दोहोरलत्त हुने गरेको छ ।

कोरोना कहरका बीचपनि झरनाको संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकारकोसमेत नजर जान थालेको छ ।

सडककै कारणले ओझेलमा रहेका यस्ता पर्यटकीय आकर्षण बोकेका झरना पर्यटकीय गन्तव्यकोरुपमा विकास हुन थालेपछि स्थानीयबासी उत्साहित भएका छन् ।

झरनालाई जिल्लाकै एक महत्वपूर्ण पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्न लागिपरेको स्थानीयहरु बताउँछन् । त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले अझ बढी तदारुकता देखाउन जरुरी देखिन्छ ।