
विराटनगर, असोज ६ । विराटनगर महानगरपालिका–१९ स्थित निर्माणाधीन क्षेत्रीय रंगशाला संरक्षणको अभावमा अलपत्र परेको छ ।
खेलकुदसँग सम्बन्धित निकायले रंगशालाको संरक्षणमा ध्यान नदिएपछि निर्माण भएका पूर्वाधारहरू जीर्ण बनेका हुन् ।
विराटनगर–१९, वैजनाथपुरस्थित निर्माणाधीन क्षेत्रीय रंगशालामा निर्माण भएका पूर्वाधारहरू संरक्षण नहुँदा जीर्ण बन्दै गएका छन् ।
आठौं ‘साफ’ खेल सञ्चालनका लागि निर्माण भएका संरचनाको संरक्षणमा सम्बन्धित निकायले ध्यान नदिएपछि निर्माण भएका पूर्वाधार जीर्ण बनेका हुन् ।
रंगशालामा अन्तर्राष्ट्रियस्तरका सुटिङ र टेनिस खेल खेलाउन सकिने पूर्वाधार निर्माण भएपनि ती पूर्वाधारको संरक्षण नहुँदा खिया लागेर जीर्ण बनेका छन् । कतिपय संरचना भत्किसकेका छन् ।
आठौं साफपछि वैजनाथपुरस्थित रंगशालामा टेनिस र सुटिङका कुनैपनि खेल सञ्चालन भएका छैनन् ।
रंगशाला खेलाडीले खेल खेल्ने नभइ गाईवस्तु चराउने र घाँस काट्ने स्थानकारुपमा परिणत भएको छ ।
रंगशाला परिसरमा कतै धानखेती गरिएको छ भने माछा मार्नेहरू माछा मार्न व्यस्त देखिन्छन् ।
रंगशालाको स्तरोन्नति र निर्माण भएका संरचनाको संरक्षणमा सम्बन्धित निकायले ध्यान नदिएको विराटनगरका खेलाडी पारस चौधरी बताउनुहुन्छ ।
यता, रंगशालाको संरक्षण र रेखदेख गर्दै आएको पूर्वाञ्चल खेलकुद विकास समितिले भने तीन तहका सरकार बनेपछि रंगशाला कसले हेर्ने भन्ने नै अन्योल रहेको जनाएको छ ।
वैजनाथपुर रंगशाला प्रदेशको क्षेत्राधिकारभित्र परेको तर प्रदेशमा संरचना नै नभएका कारण संरक्षण गर्ने निकायको अभावमा रंगशालामा बनेका पूर्वाधार अलपत्र परेको पूर्वाञ्चल खेलकुद विकास परिषद्का कार्यालय प्रमुख चण्डिका बास्तोला बताउनुहुन्छ ।
मुलुक संघीयतामा गएपछि अन्य क्षेत्रजस्तो खेलकुद क्षेत्रमा पनि अन्योल कायमै छ ।
प्रदेश सरकारले खेलकुल सम्बन्धमा व्यवस्था गर्न ऐन नै निर्माण गरिसकेको भएपनि आवश्यक संरचना निर्माण गर्न ढिलाइ गर्दा प्रदेशमा निर्माण भएका र निर्माणाधीन पूर्वाधारको संरक्षणमा बाधा उत्पन्न भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्