
कञ्चनपुर । कञ्चनपुरका किसानहरु हरियो धान काट्न बाध्य भएका छन् । धानमा फड्के किराको प्रकोप देखिएपछि किसानहरु हरियो धान काट्न बाध्य भएका हुन् ।
धान लगाउँदा मलखाद नपाएर सास्ती खेपेका यहाँका किसान भित्र्याउने बेला धानबालीमा फड्के किराको मारमा परेका हुन् ।
किराको प्रकोपले धानको बोट सुकेर पराल भएको छ । किराले डेढ विघामा लगाइएको धानबाली नोक्सान गरेपछि भोकमरीको चिन्ता बढेको बेदकोट नगरपालिका १० का किसानहरुको गुनासो छ ।
महाकाली नगरपालिकामा पहिलो पटक देखिएको फड्के किराको प्रकोप अहिले भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा समेत देखिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ ।
एकसातादेखि देखिएको यो किराको प्रकोपले झण्डै १० हेक्टर जमिनमा लगाइएको धानबाली पूर्ण रुपमा नष्ट भएको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्