१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पहिलोपटक बन्यो पीपीईलगायत मास्क परीक्षण गर्ने यन्त्र


0
Shares

ललितपुर, असोज ७ । मुलुकमा पहिलोपटक स्वास्थ्य सुरक्षा सामग्री पीपीईलगायत मास्क परीक्षण गर्ने यन्त्र तयार गरिएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले बजारमा पाइने थरिथरिका पीपीईलगायत मास्कको गुणस्तर पहिचान गर्न उक्त प्रविधि निर्माण गरेको हो ।

कोरोना महामारी आउनुअघि यी सामग्री परीक्षण गर्ने यन्त्र नरहेको र आफूहरुले पहिलोपटक नेपाल गुणस्तर तथा नापतौल विभागको मान्यतानुरुप सो यन्त्र निर्माण गरेको वरिष्ठ प्रविधि अधिकृत डा. शंकर ढकालले जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो-‘यसबाट हरेक पीपीईलगायत मास्कको गुणस्तर पहिचान गर्न सकिन्छ । यस यन्त्रले पीपीई परीक्षण गर्दा १५ किलो पास्कल दबाबमा एयसटीएम १६७० अन्तर्राष्ट्रिय मान्यतानुरुप सिंथेटिक रगत छिर्छ वा छिर्दैन हेर्ने र अर्काे एयसटीएम १६७१ मान्यतानुरुप रगतमा भाइरस मिसाएर पीपीई परीक्षण गर्दा ब्याक्टेरिया अर्थात् जीवाणुले कस्तो परिणाम दिन्छ, यसबारेमा पनि जानकारी लिइन्छ ।’

सो यन्त्रमा ३० किलो पास्कलसम्म दबाब दिने मोटर, यसमा पीपीईमा जाने दबाब नियन्त्रण गर्ने साधन र यस यन्त्रमा शून्यदेखि १५ किलो पास्कल पुगेपछि बन्द हुने व्यवस्था गरिएको ढकालले जानकारी गराउनुभयो ।

उक्त यन्त्रमा डिजिटल मिटर, सो यन्त्रलाई सञ्चालन र बन्द गर्ने स्वीच, पीपीई च्याप्ने नमुना डिस्क तथा माथिबाट सिंथेटिक रगत हाल्ने प्वाल अनि मुनिबाट पनि पीपीई तथा मास्क परीक्षणपछि सो रगत फाल्ने प्वाल रहेको ढकालले बताउनुभयो ।

नाष्टले सो यन्त्रलाई ‘प्रोटेक्टिभ क्लोथिङ पेनिट्रेसन टेस्ट डिभाइस’ (पीसीटी) नाम दिएको छ ।

उक्त यन्त्रले नेपालमा बनेका मास्क तथा पीपीईलाई प्रमाणीकरण गरेर बजार प्रवर्द्धनका लागि सघाउने विश्वास नाष्टले लिएको छ ।

नाष्टले विभागसँग यन्त्रको आइएसओ मान्यताप्राप्त लिनेक्रममा रहेको बताइएको छ ।