
पर्वत, असोज ७ । निरन्तरको वर्षासँगै बस्तीमाथिबाट आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिका वडा नम्बर-८, फर्सेका २५ घर-परिवार विस्थापित बनेका छन् ।
बस्तीको बीचमा रहेको ठाडो खोल्सा (सात्खोसी)मा आएको बाढीका कारण एक घर पुरिएको छ ।
आसपासका २५ घर-परिवार पूर्णरुपमा विस्थापित बनेको जलजला गाउँपालिका-८ का वडाध्यक्ष हरिविकास जिसीले जानकारी दिनुभयो ।
बाढीका कारण उक्त गाउँमा रहेका ४५ घर नै जोखिममा परेको उहाँले बताउनुभयो ।
उहाँकाअनुसार खोल्सामा लेदो आउन थालेपछि मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । कुनै मानवीय क्षति भएको छैन ।
‘स्थानीय खड्कबहादुर केसीको घर बाढीले पुरिएको हो’-जिसीले बताउनुभयो ।
बाढीका कारण पर्वत, बागलुङ र म्याग्दी जोड्ने झोलुंगेपुल पनि जोखिममा परेको छ । बेनी–मालढुंगा सडकसमेत बिहानदेखि अवरुद्ध बनेको जिसीले जानकारी दिनुभयो ।
सिँचाइको कुलोसमेत भत्किएको छ ।
निरन्तर वर्षा भएकाले खोल्सा आसपासको बस्तीका बासिन्दाहरुलाई स्थानीय शिव माध्यमिक विद्यालय र आफन्तको घरमा स्थानान्तरण गरिएको उहाँले बताउनुभयो ।
बस्तीमाथिको ५० रोपनीभन्दा बढी जंगल नै धाँजा फाटेको अध्यक्ष जिसीले जानकारी दिनुभयो ।
‘वर्षा नरोकिए ठूलो क्षति हुने सम्भावना छ’-उहाँले भन्नुभयो ।
यता, जिल्ला प्रहरी कार्यालय पर्वतले ठूलो वर्षा भएकाले सम्भावित जोखिम हुन नदिन स्थानीयबासीहरुलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ ।
वर्षा नरोकिने बेलासम्म सुरक्षित स्थानमा बस्न आग्रह गरिएको र स्थानीयबासीहरु नजिकैको विद्यालय वा आफन्तकोमा आश्रय लिएर बसेको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
पहिरोले मंगलबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखन्ड अझै सञ्चालनमा आउनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्