१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राजनीतिक दलहरुको महाधिवेशनः निर्धारित मितिमा हुनेमा शीर्ष नेतृत्व नै छैनन् ढुक्क


0
Shares

काठमाडौं, असोज ७ । प्रमुख राजनीतिक दलहरुले मिति घोषणा गरेर महाधिवेशनको चर्चा गरिरहेपनि निर्धारित समयमै महाधिवेशन हुनेमा ती पार्टीहरुका शीर्ष नेतादेखि कार्यकर्ता नै विश्वस्त छैनन् ।

सत्तारुढ दल नेकपाले अझैपनि एकता टुंग्याएको छैन ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामा पनि आत्मविश्वास देखिँदैन ।

एकीकृत राप्रपा र जनता समाजवादी पार्टीभित्र पनि महाधिवेशनको चर्चा त छ तर, सम्भावना कमजोर देखिन्छ ।

राजनीतिक विश्लेषकहरु भने नेतृत्वको मनोविज्ञानले पार्टीहरुको महाधिवेशनहरु प्रभावित हुने गरेको टिप्पणी गर्दछन् ।

लामो समयसम्म शक्तिसंघर्षमा रुमल्लिएको सत्तारुढ दल नेकपाको एकता महाधिवेशन हुने चर्चा छ । उसले चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने घोषणा गरेको छ ।

तर, तीन महिनाभित्र सक्न्ने भनिएको पार्टी एकताका सबै काम तीन वर्ष पुग्न लाग्दा पनि भएको छैन ।

केन्द्रीय आयोगहरु र सल्लाहकार परिषद्, विभिन्न विभाग र प्रतिष्ठानहरुको एकीकरण भएको छैन ।

भातृसंगठनको हालत पनि उस्तै छ । हजारौं कार्यकर्ता जिम्मेवारीविहीन र निराश छन् । स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरु कहिले गर्ने टुंगो छैन ।

कांग्रेसको फागुन ७ देखि १० गते १४औं महाधिवेशन गर्ने कार्यतालिका छ । कार्यतालिकाअनुसार साउनमा सम्पन्न गर्नुपर्ने पार्टी समायोजन र भदौ मसान्तसम्म केन्द्रमा आइसक्नुपर्ने क्रियाशील सदस्यहरुको नामावली अत्तोपत्तो छैन ।

तोकिएको समयमा महाधिवेशनमा हुनेमा सभापति देउवा नै विश्वस्त हुनुहुन्न ।

यता, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि वैशाखमा एकताको महाधिवेशन गर्ने तय गरेको छ ।

केन्द्रीय कार्यसमिति बनाउन नसकेको जनता समाजवादी पार्टीको एकता महाधिवेशन कहिले भन्ने प्रश्न उत्तिकै छ ।

दलहरु भने कोभिड-१९ संकटलाई कारण देखाएर महाधिवेशन सार्ने प्रयासमा छन् ।

तर, राजनीतिक विश्लेषक राजेन्द्र चापागाईं सबै राजनीतिक दलहरुको मनोविज्ञानमै प्रश्न उठाउनुहुन्छ ।

हो, अनेक बाहाना देखाएर समयमै महाधिवेशन नगर्नु अन्य कारण नभइ दल र नेतृत्वकर्ताको शक्ति गुम्ने डर हावी भएको हुनसक्छ ।

दलहरुलाई जीवन्त राख्ने, भएका विवादहरु समाधान गर्ने उत्तम उपाय नै महाधिवेशन हो । यो वा त्यो कारण देखाएर महाधिवेशन रोक्दा स्वयं दलहरुलाई फाइदा हुँदैन ।

भिडियो हेर्नुहोस्