१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


समाचारपछि कृषिकर्म


0
Shares

इलाम, असोज ८ । समाचार लेखेर २४ वर्ष बिताइसक्नुभएका इलामका सक्रिय पत्रकार तोयानाथ भट्टराईले पत्रकारितासँगै कृषिकर्मलाई अंगाल्नुभएको छ ।

समाचारमा भविष्य खोजिरहनुभएका भट्टराईले अहिलेको लकडाउनसँगै समाचारपछिको समयलाई कृषिकर्ममा उपयोग गर्नुभएको छ ।

पत्रकारले समाचारमात्र खोज्नुपर्छ भन्ने मान्यतालाई तोड्दै इलामका पत्रकार भट्टराई कृषिकर्ममा लाग्नुभएको छ ।

एउटा पेसा गरेपछि अर्को पेसा गर्न हुँदैन भन्ने युवाहरुको मान्यतालाई चिर्दै उहाँले पत्रकारितासँगै कृषिमा हात हाल्नुभएको हो ।

यतिको लामो समय पत्रकारितामा बिताउनुभएका उहाँलाई यसपटक भने देशमा भएको बन्दाबन्दीले पत्रकारितासँगै कृषिकर्मतिर धकेलेको छ ।

गाउँबाट पढाइका लागि सदरमुकाम इलाम छिरेपछि उहाँ पत्रकारितामा जोडिन पुग्नुभयो । सदरमुकाममा बसेर समाचारमा भविष्य देख्नुभएको उहाँले ‘लकडाउन’काबीचमा अहिले समाचारमात्रहैन, कृषिकर्मलाईसमेत सँगै लैजाने निर्णयमा पुग्नुभएको हो ।

लकडाउनकै समयमा उहाँले ९०० वर्गमिटर क्षेत्रफलमा १० ओटा प्लाष्टिक टनेल, थोपा सिँचाइ, प्लाष्टिक मल्चिङ गरेर पाँच लाख रुपैयाँको लगानीमा सुरु गरेको फर्ममा बेमौसमी टमाटर, काँक्रा, खोर्सानी, रायोको साग, काउली लगाएको देख्न सकिन्छ ।

समाचार लेखेर हात बाँधेर बस्नुभन्दा बाँकी समय कृषिमा लगाउनुपर्ने उहाँको सुझाव छ ।

प्रदेश नम्बर-१ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तीन लाख ५० हजार रुपैयाँबाहेक स्वलगानीमा सुरु गर्नुभएको कृषि फर्ममा स्थानीय युवाहरुलेसमेत रोजगारी पाएका छन् ।

भट्टराईले सुरु गर्नुभएको कृषि क्षेत्रमा रासायनिक मलको विकल्पको रुपमा गाईको मूत्र, गोबर, सख्खरलगायतका सामग्री मिसाएर जैविक झोल मल प्रयोग गरिएको छ ।

स्थानीय सहकारीको जागिरसमेत छोडेर फार्ममा लाग्नुभएकी उहाँकी श्रीमती यशोदा बानियाँसमेत खेतीमै रमाउन थाल्नुभएको छ ।

कोरोना र लकडाउन जपेर त्रास फैलाउने लहर नै चलेको समयमा आफ्नै भूमि कोट्याउने कर्ममा लाग्नुभएका पत्रकार भट्टराईले ४५ रोपनी क्षेत्रमा चियाखेतीकोसमेत सुरुआत गर्नुभएको छ ।

त्यसैले लकडाउनको मारमा पर्नुभन्दा यसलाई उपयोग गर्नको लागि उहाँको यस्तो कृषिकर्मबाट युवाहरुलेसमेत केही पाठ सिक्नुपर्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्