
चितवन, असोज ८ । चितवनमा एक ठाउँको बजेट पहुँचको बलबुतामा अर्के ठाउँमा लगाउने चलन नौलो होइन ।
अहिलेपनि आफ्नो ठाउँको विकास बजेट पहुँचको भरमा अर्कै ठाउँमा खर्च गरिएपछि चितवनको कालिका नगरपालिकाका स्थानीय आक्रोशित भएका छन् ।
जशको शक्ति उसको भक्ति भनेझैं चितवनमा योजना पार्न शक्तिको पहुँच पुर्याउनुपर्ने भएको छ ।
चितवनको अजम्बरीचोकदेखि सुनगुरौसम्मको सडक कालोपत्रे गर्न भनी नगरपालिका आफैंले पास गरेको योजना र बजेट त्यस ठाउँमा लगाएन । बरु, पहुँचको भरमा कागज मिलाएर त्यही बजेट नजिकैको अर्को सडक प्रगतिटोलको शिवशक्तिचोकस्थितको सडक कालेपत्रे गर्ने काममा लगाएको छ ।
योजना र ‘स्टीमेट’ पास भएको सडकमा काम नगरी अर्कै सडकमा कालोपत्रे गर्न थालेपछि अजम्बरीटोलबासी विरोधमा उत्रिएका हुन् ।
सधैं दुःख झेल्दै आएको घरअगाडिको सडक कालोपत्रे हुने भयो भनेपछि खुसीले गदगद भएका स्थानीयहरु अन्तै बाटो कालोपत्रे हुन थालेपछि आश्चर्यमा परेका छन् ।
टोल विकास संस्थाका अध्यक्ष मोतिकुमार श्रेष्ठले सबै कागजातमा अजम्बरीचोकदेखिको सडक नै कालोपत्रे गर्ने भनिएपनि काम भने अर्को सडकमा हुँदा नगरपालिकाको नियत ठिक नभएको बताउनुभयो ।
बाटो कालोपत्रेका लागि गत असार २ गते बोलपत्र आह्वान पनि यही नामको सडकका लागि गरिएको छ । तर, यस सडकमा काम नगरी छलछाम गरी अर्कै सडकमा गर्नु कत्तिको उपयुक्त हुन्छ ?
बाटो कालोपत्रेका लागि नगरपालिकाले एक करोड ९६ लाख ४७ हजार रुपैयाँको स्टीमेट बनाएपनि ठेक्का पाएको कम्पनीले एक करोड ३२ लाख ८१ हजार रुपैयाँमा सकारेको छ ।
यता, वडाध्यक्ष जियन महतोले भने आफूलाई थाहै नदिइ उपमेयर कमला भट्ट्राईले बजेट अर्को योजनामा लगाएको आरोप लगाउनुभयो ।
यता, प्रमुख खुमनारायण श्रेष्ठ र उपमेयर कमला भट्टराईले प्राविधिक त्रुटिका कारण नाम गलत भएको भन्दै अहिलेकै क्षेत्रमा योजना परेको जिकिर गर्नुभयो ।
सधैं शक्तिको आडमा योजनाहरुको छनोटमा दुरुपयोग हुँदा यहाँका योजनाहरु अलपत्र पर्ने गरेका छन् । त्यसैलेपनि आवश्यकता र जनताको चाहनाअनुसारका योजना छनोट हुनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्