
काठमाडौं, असोज ८ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामको अनुगमन गर्न गठित संसदीय उपसमितिले प्रत्येक अस्पतालहरुमा नन–कोभिड बिरामीको सहज उपचारको व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड-१९ का सन्दर्भमा सरकारले गरेका काम-कारबाहीको अनुगमन गर्न गठन गरेको उपसमितिले नन–कोभिड बिरामीहरुको सहज उपचारको लागि प्रत्येक अस्पतालहरुमा व्यवस्था मिलाउन सुझाव दिएको हो ।
यस्तै, उपसमितिले ‘पीसीआर’ रिपोर्ट तत्काल उपलब्ध गराउन, देशभरिका प्रयोगशालालाई एकीकृतरुपमा समन्वय गर्न, रिपोर्ट दिन प्रभावकारी संयन्त्र निर्माण गर्न आवश्यक दक्ष जनशक्तिको व्यवस्था गर्दै पूर्ण क्षमतामा ल्याब सञ्चालनको व्यवस्था मिलाउन जोड दिएको छ ।
त्यसैगरी, ‘होम आइसोलेसन’मा बसेका संक्रमितको नियमितरुपमा स्वास्थ्यकर्मीबाट निगरानी गराउने व्यवस्था गर्नपनि सुझाव दिएको छ ।
समितिले कोभिड उपचारमा खटिने स्वास्थ्यकर्मी र चिकित्सकलाई तत्काल जोखिम भत्ता उपलब्ध गराउनुपर्ने, उपचार सेवा प्रभावित हुने अवस्थालाई मध्यनजर गरेर कोभिड उपचारमा वैकल्पिक स्वास्थ्यकर्मीको व्यवस्था गर्न र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउन सुझाव दिएको छ ।
यस्तै, उपसमितिले ‘लकडाउन’ र निषेधाज्ञाभन्दा कोरोना रोकथामका लागि जारी भएका मापदण्ड पालना गराउने विषयलाई प्राथमिकता दिन सुझाव दिएको छ ।
बिहीबार समितिको बैठकमा सांसदहरुले वीर अस्पतालमा बन्दीको मृत्यु प्रकरण र तीन दिनमै शव सड्ने अवस्था कसरी आयो ? भन्ने प्रश्नको जवाफ माग गर्दै शवगृह व्यवस्थापनमा उचित ध्यान दिन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्