१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाको विषयमा बढी चर्चा र आतंक फैलाइयो : सांसद


0
Shares

काठमाडौं, असोज ८ । सांसदहरुले कोरोनाभाइरसको विषयमा तथ्यगत जानकारीभन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको बताएका छन् ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बिहीबार भएको छलफलमा सांसदहरुले कोरोनाका विषयमा तथ्यगत जानकारी सम्प्रेषण हुन नसक्दा जनतामा आतंक फैलिएको बताएका हुन् ।

सांसदहरुले कोरोना महामारी हो कि सरुवारोगमात्रै हो भन्ने कुरा प्रष्ट पार्नुपर्ने बताए ।

स्वास्थ्य मन्त्रालयका अधिकारी सहभागी बैठकमा उनीहरुले ‘सरुवारोगमात्रै हो भने कोकोहोलो किन गर्नुपरेको ?’ भन्दै प्रश्न गरे ।

महामारी नै हो भने सामान्य अवस्थाको मृत्युदर र अहिलेको मृत्युदरको विश्लेषण हुनुपर्नेमा जोड दिए ।

सांसदहरुले ‘पीसीआर’ परीक्षण गर्ने नीति ठिक नभएको भन्दै संक्रमित भएर उपचार गराइरहेको व्यक्तिले अन्य व्यक्तिमा संक्रमण फैलाउने दर बढी हुने भएकाले लक्षण देखिएमात्रै परीक्षण गर्ने योजना व्यावहारिक नभएको बताए ।

कोभिड-१९ को विषयमा बढी चर्चा र आतंक फैलाइएको भन्दै आतंक सिर्जना हुनेगरी भएको प्रचारले आममानिसमा मनोवैज्ञानिक असर गरेको सांसदहरुको भनाइ थियो ।

पछिल्लो समय समाजमा ‘लकडाउन’को आतंक फैलिएकोले अब लकडाउन गर्न नपर्ने गरी ‘प्रोटोकल’ बनाउनुपर्नेमा सांसदहरुले जोड दिए ।

छलफलमा सहभागी मन्त्रालयका सहसचिव डा. गुणराज लोहनीले अहिले भेन्टिलेटरभन्दा अक्सिजनको उपचार विधि लाभदायक देखिएको बताउनुभयो ।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोनाको खोप बनेपछि नेपाललाई सहजरुपमा उपलब्ध गराउन भारत, रसिया र चीनलगायतका मुलुकसँग दुईपक्षीय कुराकानी भइरहेको जानकारी दिनुभयो ।

चिकित्सकहरुको जोखिम भत्ताका विषयमा मन्त्रिपरिषद्ले तयार पारेको कार्यविधिअनुसार वितरण भइरहेको उहाँले बताउनुभयो ।

नेपाली वैज्ञानिकहरुले खोप पत्ता लगाएको अवस्थामा पनि सुरुआती चरणमा अरु देशहरुको खोप नै प्रयोग हुने उहाँले बताउनुभयो ।