
काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किङ्स इलेभेन पन्जाबले पहिलो जित निकालेको छ ।
गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गर्दै पन्जाबले पहिलो जित निकालेको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा समेटियो ।
बैंगलोरका लागि वासिङ्गटन सुन्दरले सर्वाधिक ३० रन जोडे । यस्तै एबी डी भिलियर्सले २८ तथा आरोन फिन्चले २० रन बनाए शिवम डुबे १२ रनमा आउट भए ।
बैंगलोरलाई सस्तैमा समेट्न पन्जाबका रवि विश्नोई र मुरुगान आश्विनले ३–३ विकेट लिए । सेलड्रोन कोट्रेलको नाममा २ विकेट रह्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।
पन्जाबका लागि कप्तान केएल राहुलले अविजित रहँदै १ सय ३२ रनको शतकीय इनिङ्स खेले । उनले ६९ बलमा ७ छक्का र १४ चौका प्रहार गरे ।
उनी यस सिजनको आईपीएलमा शतक बनाउने पहिलो खेलाडी बने । यस्तै मायांक अग्रवालले २६ तथा निकोलस पुरनले १७ रन बनाए ।
करुण नायर १५ रनमा अविजित रहे । बैंगलोरका शिवम डुबेले २ तथा युजभेन्द्र चाहलले १ विकेट लिए । जितसँगै पन्जाबले २ खेलमा २ अंक जोडेको छ ।
पन्जाब तालिकाको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । बैंगलोरको यो पहिलो हार हो ।
पहिलो खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले हराएको थियो । बैंगलोर २ खेलमा २ अंकसहित छैटौं स्थानमा रहेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्