८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मन्त्रिपरिषद् हेरफेरबारे छलफल गर्न नेकपा अध्यक्षद्वय बालुवाटारमा


0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनगर्ठनको तयारी थाल्नुभएको छ ।

प्रधानमन्त्री समेत रहेका ओेली र दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ ।

अध्यक्षद्वयबीच हिजो मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा झण्डै ३ घण्टा छलफल भएको थियो ।

छलफलसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको अध्यक्ष निकट नेताहरुको भनाइ छ ।

गत आइतबार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रस्ताव गरेको थियो ।

बैठकमा सबै मन्त्री फेर्ने, दुई वर्ष पूरा भएकालाई हटाउने र नयाँ राख्ने, राम्रा काम गरेकालाई निरन्तरता दिने लगायतका विभिन्न विकल्प प्रस्तुत भएको थियो ।

त्यसपछि मंगलबार पुनः बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल नै भएन ।

आइतबारको बैठकले नै मन्त्रिपरिषद् पुनर्गठनको मापदण्ड बनाउने जिम्मेवारी अध्यक्षद्वयलाई दिइएको थियो ।

अब भने दुई अध्यक्षले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका हुन् । सोमबारको बैठकले अध्यक्षद्वय र महासचिव विष्णु पौडेललाई पार्टी एकताको बाँकी काम टुंग्याउने गरी १० दिनभित्र एकताको प्रस्ताव तयार गर्ने जिम्मेवारी पनि दिएको छ ।

यस्तै बैठकमा रिक्त रहेका संवैधानिक निकाय र अन्य क्षेत्रमा रिक्त रहेका राजनीतिक नियुक्तिलाई पूर्णता दिने विषयमा पनि छलफल हुने बताइएको छ ।