१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाबारे भ्रम फैलाउन सामाजिक सञ्जालको भूमिका छ : अध्ययन


0
Shares

सिकागो, असोज ९ । कोरोनाभाइरसकाबारेमा भ्रम फैलाउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको एक अध्ययनले देखाएको छ ।

सामाजिक सञ्जालमार्फत् सम्प्रेषण गरिएका कतिपय सूचनाहरु गलत हुने र त्यसैलाई विश्वास गर्नेहरुको संख्या धेरै भएकाले भ्रम फैलिएको हो ।

अमेरिकीहरुको व्यवहारका आधारमा गरिएको सर्वेक्षणले कोरोनाकाबारेमा गलत सूचना सम्प्रेषण हुनुमा सामाजिक सञ्जालको मुख्य भूमिका रहेको देखाएको छ ।

सर्वेक्षणमा अमेरिकाभरीका २१ हजार जना सहभागी भएका थिए । सर्वेक्षण यही अगस्ट ७ देखि २६ सम्म गरिएको थियो ।

सर्वेक्षणमा सहभागी भएकाहरुमध्ये झन्डै २८ प्रतिशत स्न्यापच्याटका प्रयोगकर्ताहरु, २३ प्रतिशत इन्स्टाग्राम र २५ प्रतिशत विकिपिडिया प्रयोगकर्ताहरुले ती सामाजिक सञ्जालमा आएका सूचनाहरुमा विश्वास गर्ने गरेको बताएका थिए ।

अमेरिकाका नर्थवेस्टर्न, हार्वर्ड, नर्थइस्टर्न र रुटगर विश्वविद्यालयहरुको सञ्जालमार्फत् सर्वेक्षण गरिएको जनाइएको छ ।

उनीहरुका अनुसार ८ प्रतिशत उत्तरदाताहरुले फेसबुकको म्यासेन्जरबाट आफूहरुले सूचना पाउने गरेको जवाफ दिएका थिए ।

त्यसैगरी, सर्वेक्षणमा सहभागी ह्वाट्सएपका ३१ प्रतिशत प्रयोगकर्ताहरुमध्ये ४ प्रतिशतले त्यहाँ आएका सूचनालाई विश्वास गर्ने गरेको पाइएको छ ।

सर्वेक्षणमा सहभागीहरुले सामाजिक सञ्जालहरुसँगै स्थानीय टेलिभिजन, समाचारमूलक अनलाइन, एप्स, सामुदायिक पत्रिकालगायतबाट पनि सूचना प्राप्त गर्ने गरेको बताएका थिए ।

सर्वेक्षणबाट प्राप्त विवरणहरुलाई नर्थवेस्ट युनिभर्सिटी (एनयू)को वेबसाइटमा बुधबारदेखि राखिएको छ ।

‘सर्वेक्षणले सामन्यतः कोरोनाविरुद्धमा भ्रम फैलाउनका लागि सामाजिक सञ्जालहरुले सहयोग गरेको देखाएको छ’-एनयूको राजनीतिशास्त्रका प्राध्यापक जेम्स ड्रुकम्यानले भन्नुभयो ।

अध्ययनकर्ताहरुकाअनुसार तुलनात्मकरुपमा वृद्ध व्यक्तिभन्दा ४५ वर्षभन्दा कम उमेरका धेरै व्यक्तिहरुले गलत सूचनालाई पनि विश्वास गरेको पाइएको छ ।

सर्वेक्षणले गलत सूचनाको प्रवाह र मास्कको प्रयोगकाबीचमा बलियो सम्बन्ध रहेको पनि देखाएको छ ।

गलत सूचनाको सिकार भएका ११ जनामध्ये आठजनाले मास्क प्रयोग गर्न रुचि नदेखाएको सर्वेक्षणकाक्रममा भेटिएको छ । रासस/सिन्ह्वा