१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाले समाजमा पारेको प्रभावको अध्ययन गर्न सरकारलाई निर्देशन


0
Shares

काठमाडौं, असोज ९ । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा बालबालिका समितिले महिला, बालबालिका, ज्येष्ठ नागरिक र फरकरुपले सबल व्यक्तिहको ‘पीसीआर’ परीक्षणलाई प्राथमिकता दिन सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले महामारीको अवस्थामा संयमित र सभ्य व्यवहारलाई स्थिर राख्नका लागि थप प्रभावकारी कदम चाल्न कोभिड-१९ ले समाजमा पारेको प्रभावको तत्काल अध्ययन-अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले महामारीसम्बन्धी तथ्यगत सूचना सम्पे्रषण गर्न सञ्चारमाध्यमहरुलाई आग्रह गरेको समिति सभापति निरुदेवी पालले बताउनुभयो ।

छलफलमा भाग लिँदै सांसदहरुले महामारीको समयमा सञ्चार समन्वयको अभाव र विभेदका कारण सामाजिक द्वन्द्व सिर्जना हुनसक्नेतर्फ सचेत हुन आग्रह गरेका थिए ।

सांसद विन्दा पाण्डेले कोरोना महामारीका कारण समाजमा ठूलो नकारात्मक असर परेको र त्यसले सामाजिक द्वन्द्व निम्त्याउनेसक्नेतर्फ सचेत रहन आग्रह गर्नुभयो ।

सांसद विद्या भट्टराईले कोरोनाबाट सिमान्तकृत, विपन्न र राज्यको पहुँचबाट टाढा रहेका नागरिकहरु बढी प्रभावित भएको बताउनुभयो ।

सांसद लक्ष्मी परियारले गर्भवती, सुत्केरी महिला र नवजात शिशु महामारीले प्रभावित भएको बताउनुभयो ।

छलफलमा सहभागी विज्ञ डा. युवराज लुईंटेलले महामारीले सामाजिक, आर्थिक क्षेत्रमा पारेको नकारात्मक प्रभावबाट बाहिर निस्किन जरुरी रहेको बताउनुभयो ।

छलफलमा सहभागी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव टेकराज निरौलाले महामारीको प्रभावलाई मध्यनजर गर्दै लक्षित समूहका लागि छुट्टाछुट्टै फोकल पर्सन तोकिएको बताउनुभयो ।