१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाविरुद्धको खोप सन् २०२१ मा तयार हुने चिनियाँ कम्पनीको दाबी


0
Shares

काठमाडौं, असोज ९ । चीनको औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोनाविरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने जनाएको छ ।

कम्पनीले आगामी वर्ष सन् २०२१ को फेब्रुअरी वा मार्चसम्ममा एक करोडसम्म खोप उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ ।

सिनोभ्याकले जोखिममा रहेका बच्चा र बूढाबूढीका लागि कोरोनाभ्याकको सानो खुराक पनि परीक्षण गर्न थालेको छ ।

खोपको स्वीकृत मापदण्डबमोजिम कोरोनाभ्याक खोपको अझै तेस्रो चरणको ‘क्लिनिकल’ परीक्षण सम्पन्न नभएपनि सिनोभ्याकले चीनमा हजारौं मानिसलाई आपत्कालीन प्रयोग प्रावधानअन्तर्गत् सम्मिलित गरिसकेको छ ।

कम्पनीले यो खोप अमेरिकासमेत विश्वका विभिन्न मुलुकमा वितरण गरिने जनाएको छ ।

सिनोभ्याकका प्रमुख कार्यकारी यीन वेडोङले आफूले व्यक्तिगतरुपमा पनि कोरोनाभ्याक लगाइसकेको जानकारी दिनुभयो ।

अमेरिका, युरोपेली युनियन, जापान र अष्ट्रेलियाका कडा नियमहरूका कारण विगतदेखि नै चिनियाँ खोपहरू बिक्री हुनसकेका छैनन् ।

चीनले यस वर्षको सुरुमा जोखिमयुक्त जनसंख्याका लागि खोप लगाउन अनुमति दिएको थियो । जसमा एक हजारभन्दा बढी स्वास्थ्यकर्मी र सीमारक्षकहरु सामेल थिए ।

सिनोभ्याकमा कार्यरत् ९० प्रतिशतभन्दा बढी कर्मचारीलाई कोरोनाभ्याक दिइएको कम्पनीले जनाएको छ ।