
काठमाडौं । सरकारले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका जारी गरेसँगै ताप्लेजुङका केही शैक्षिक संस्थाहरु संचालनमा आएका छन् ।
कोभिड–१९ का कारण लामो समयदेखि अवरुद्ध रहेको शैक्षिक गतिविधिलाई आफ्नो परिवेश अनुकुल संचालन गरी सिकाइलाई निरन्तरता दिन सकिने सरकारले जनाएपछि यहाँका निजी तथा सामुदायिक विद्यालयले विद्यालय खोलेर पठनपाठन सुरु गरिएको छ ।
अन्य जिल्लाहरुको तुलनामा ताप्लेजुङ संक्रमणका हिसाबले केही सुरक्षित रहेको र सबै विद्यार्थी तथा अविभावक रेडियो, टिभी साथै अनलाइन सिकाइको पहुँचमा नभएको निस्कर्ष सहित यहाँका केही निजीसहित सामुदायिक विद्यालयहरुले शैक्षिक गतिविधि सञ्चालनमा ल्याएका हुन् ।
सरकारले बनाएको स्वास्थ्यका मापदण्डलाई पालना गर्दै विद्यार्थी तथा अविभावकको इच्छा अनुसार स्कुल खोल्न थालिएको सदरमुकामस्थित भानुजन माविका प्रधानाध्यापक किसोर राईले बताउनुभयो ।
घरैमा पढ्ने र पढाउने वातावरण भएमा स्कुल आउनै पर्छ भन्ने बाध्यता भने नराखीएको उहाँले बताउनुभयो ।
तर घरमा पनि पढ्ने वातावरण नभएको र वैकल्पिक तवरले समेत भइरहेका अनलाइन, टिभी र रेडियोबाट हुने सिकाइमा ध्यान नदिने बालबालिकालाई भने स्कुल पठाउँदा राम्रो हुने उहाँको भनाई छ ।
कक्षा कोठामा बालबालिकालाई संक्रमणबाट आफू बच्न र आफ्नो घर परिवारलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने जस्ता कुरासमेत सिकाउने गरिएको छ ।
सदरमुकामका विद्यालय यसरी सञ्चालन भइरहँदा ग्रामिण क्षेत्रका कतिपय विद्यालयहरु भने अन्योलमै छन् ।
९ वटा स्थानीय तहमध्ये फुङलिङ नगरपालिका र आठराई त्रिवेणी गाउँपालिकाका प्राय विद्यायलय सञ्चालनमा छन् भने अन्य ठाउँका विद्यालयहरु भने सञ्चालनमा आउने तयारीमा छन् ।
तर पछिल्लो पटक ताप्लेजुङमा दुई जना संक्रमित थपिएपछि भने खुलेका स्कुल पनि बन्द गर्ने या निरन्तर चलाउने भन्नेमा शिक्षकहरुलाई अन्योल छ ।
केही दिन अघि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बसेको सर्वपक्षिय बैठकले अवस्था हेरी स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै विद्यालय सञ्चालन गर्न सकिने निस्कर्ष पछि यसरी विद्यालयहरु खुलेका हुन् ।
तर सबैजसो विद्यालयले खोल्ने आँट गरेका छैनन् । स्थानीय सरकारले समेत विद्यालय संचालन गर भन्न सकिरहेका छैनन् ।
एकातिर यातायात खुलेसँगै थप संक्रमणको जोखिम बढ्दै गएको छ भने लामो समयदेखि पठान पाठन नहुँदा विद्यार्थीको भविष्य पनि अन्योलमा परेको छ ।
पहाडी क्षेत्रमा टिभी, अनलाइन र रेडियो शिक्षासमेत प्रभावकारी बन्न सकिरहेको छैन ।
प्रतिक्रिया दिनुहोस्