
काठमाडौं, असोज १० । सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने तयारी थालेको छ ।
विगत छ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन कोरोना संक्रमण दर कम भए विशेष प्याकेज ल्याउने तयारी गरिएको हो ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संक्रमणको अवस्था कम हुनेबित्तिकै संगठित क्षेत्रका व्यक्तिहरुलाई संगठितरुपमा देश दर्शन गराउने बताउनुभयो ।
उहाँले जुनसुकै मुलुकले पनि आगामी दुई वर्ष आन्तरिक पर्यटनलाई जोड दिने नीति लिएको भन्दै आन्तरिक पर्यटनले नै धरासायी बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न सहयोग पुग्ने बताउनुभयो ।
मन्त्री भट्टराईले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नै हप्तामा दुई दिन सार्वजनिक बिदाको अवधारणा अघि सारेको बताउनुभयो ।
हप्तामा दुई दिन बिदाको व्यवस्था मिलाउन विभिन्न मन्त्रालयसँग छलफल भइरहेको उहाँको भनाइ थियो ।
पर्यटनसम्बद्ध सेवाप्रदायक संस्था तथा कम्पनीहरुलेसमेत आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष योजनाहरु सार्वजनिक गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्