९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सामाजिक सन्जाल र पत्रकारिताका विकृति रोक्न सूचना प्रविधि विधेयक उचित : खनाल


0
Shares

काठमाडौं, असार १८ । पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता झलनाथ खनालले सूचना–प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समर्थन गरेका छन् ।

सूचना–प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको सूचना प्रविधि विधेयकमाथि प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिमा बुधबार भएको छलफलमा नेता खनालले विधेयक समसामयिक परिस्थितिको उपज भएको टिप्पणी गरे ।

सामाजिक सन्जाल र मुलुकको पत्रकारिता क्षेत्र कतिपय समयमा गलतरुपले प्रयोग भइरहेको भन्दै नेता खनालले खराब प्रवृत्तिलाई कुनै न कुनै ढंगले नियन्त्रण गर्नैपर्ने जिकिर गरे ।

नेता खनालले अभिव्यक्ति स्वतन्त्रताको परिभाषा स्पस्ट हुनु जरुरी रहेको भन्दै साइबर अपराध नियन्त्रण गर्न विश्वका शक्तिशाली राष्ट्रहरु पनि लागिरहेको स्मरण गराए ।

उनले कतिपय विवादित विषयमा सहमति गरेर जान सकिने तर सहमति हुन नसके प्रक्रिया अवलम्बन गर्नुपर्ने बताए ।

तर, प्रतिपक्ष र कतिपय सत्तारुढ दलका सांसदहरुले भने सूचना प्रविधि विधेयक हुबहु पारित गरे झन् समस्या उत्पन्न हुने जिकिर गरेका थिए ।

सांसद दुर्गा पौडेलले पत्रकारिताजगत सरकारको एक अंग भएकाले पत्रकारिताजगतलाई असर पर्नेगरी ऐन बन्न नहुने बताइन् ।

सांसदहरुले एउटै व्यक्तिलाई दुई कानुन लगाउन नहुने, संविधानसँग बाझिने गरी ऐन निर्माण गर्न नहुने र नियमन गर्ने नाममा सामाजिक सन्जाललाई कुन्ठित गर्न नहुने धारणा राखेका थिए ।

बैठकमा सन्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्र गुरुङले संविधानविपरीत हुनेगरी विधेयक नआएको जिकिर गरे ।