
पोखरा, असोज १० । पोखरामा सन् २०२० को नौ महिनामा भएको वर्षाले ५० वर्षयताकै रेकर्ड तोडेको छ ।
जल तथा मौसम विज्ञान कार्यालय, पोखराका प्रमुख वरिष्ठ मौसमविद् राजारामप्रसाद ढकालकाअनुसार सन् २०२० को जनवरीदेखि हालसम पाँच हजार ५९ मिलिमिटर अर्थात ५० वर्षभरिकै अत्यधिक वर्षा भएको हो ।
मनसुनी वर्षामात्रै चार हजार ३९६ मिलिमिटर भएको छ ।
मनसुनी वर्षा यो नौ महिना अवधिमा भएको वर्षाको तुलनामा ८० प्रतिशत हुन आउँछ ।
यसअघि, सन् १९९८ मा सबैभन्दा बढी चार हजार ८७९ मिमि वर्षा भएको रेकर्ड छ । त्यसबेला मनसुनी वर्षा तीन हजार ९२० मिलिमिटर भएको थियो ।
साथै, यस वर्षको सेप्टेम्बर महिनामा मात्रै हालसम्म ५० वर्षयताकै अधिक वर्षा भएको छ । यसअघि, सन् २००७ को सेप्टेम्बर महिनामा एक हजार १८६ मिमि वर्षा भएको थियो । सो रेकर्ड एक महिना अवधिमा हुने वर्षाको तुलनामा अहिलेसम्म तोडिएको थिएन ।
पोखरामा सामान्यतया सेप्टेम्बर महिनामा सरदर ६४० मिमिमिटर वर्षा हुने गर्दछ । सरदर हुने वर्षाको दोब्बर अर्थात् एक हजार ३०५ मिमि वर्षा भएको हो ।
अझ केही दिन मनसुन कायम रहने देखिएकोले यो संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्