
काठमाडौं, असोज १० । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय ‘लकडाउन’ र निषेधाज्ञा जारी हुँदा व्यापार-व्यवसाय पनि ठप्प भयो ।
पछिल्लो एक महिनायता बजार खुलेपनि उपभोग्य सामग्री पर्याप्त नहुँदा व्यापार शून्य रहेको व्यवसायीले बताएका छन् ।
खासगरी चीनतर्फको केरुङ नाकाबाट सामान ल्याउन नसक्दा अभाव भएको छ ।
गत बुधबारबाट उत्तरी नाका केरुङ खुलेपनि चिनियाँ पक्षले कोभिडको कारण देखाउँदा सामान आयात सहज हुनसकेको छैन ।
मुख्य व्यापारिक नाका तातोपानी नाका पनि लामो समयदेखि बन्द रहँदै आएको छ ।
व्यापारको मुख्य सिजन चाडपर्व नजिकिँदै गर्दापनि कोभिड-१९ संक्रमण जोखिमका कारण चीनतर्फको केरुङ नाकाबाट कुनैपनि सामग्री भित्रिन सकेको छैन । जसको असर काठमाडौंलगायत देशका ठूला बजारमा पर्ने देखिएको छ ।
व्यापारी पनि बजारमा सामान नभएका कारण व्यापार नै हुन नसकेको बताउँछन् ।
खासगरी लत्ताकपडा चीनतर्फबाट सबैभन्दा धेरै आयात हुने गरेको छ । यो वर्ष आयातमा समस्याका कारण जाडो ‘सिजन’को कपडा पनि अभाव हुनसक्ने व्यवसायी बताउँछन् ।
यो वर्ष व्यवसायीलाई आफ्नो लगानीको सुरक्षाको चिन्ताले सताउन थालेको छ ।
केरुङ नाकामा आएका एक हजार बढी कन्टेनर पनि रोकिएका छन् । त्यसको असर नेपाली बजारमा देखिएको छ ।
सामान छुटाउन सरकारले नै पहल गर्नुपर्ने व्यवसायीको माग छ ।
प्रतिक्रिया दिनुहोस्