२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


कोरोना कहरकै बीच काभ्रेका विद्यालयमा पठनपाठन सुरु


0
Shares

काभ्रे । काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ ।

कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन् ।

जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी पठनपाठन शुरु गरेका हुन् ।

काभ्रेपलाञ्चोकको पाँचखालले सोमबारबाट, तेमालले मङ्गलबार र रोशीले बुधबारबाट सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ल्याएका हुन् ।

पाँचखालको नगरकार्यपालिकाले विद्यालयलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर सोमबारबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै लामो समयदेखि बन्द रहेको विद्यालय सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ ।

विद्यालय सञ्चालन गर्न यसअघि नगर शिक्षा समितिले शैक्षिक कार्यविधि तयार गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि विद्यालय व्यवस्थापन समिति, अभिभावकलगायत सरोकारवालासँग छलफल गरी आवश्यक स्वास्थ्य सुरक्षा विधि अपनाएर विद्यालय सञ्चालन गरेको वडा नं ४ लामीडाँडास्थित गोल्मादेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक विद्यालक्ष्मी देउजाले बताउनुभयो ।

“हामीले शिक्षण गर्दा भौतिक दूरी कायम गर्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरी बुधबारबाट कक्षामा पठनपाठन सञ्चालन गरेकामा अझै पनि सबै विद्यार्थीलाई विद्यालयमा नआइसकेकाले सबैलाई ल्याउने प्रयत्न भइरहेको छ”, उहाँले भन्नुभयो ।

बन्दाबन्दीका कारण विद्यालय बन्द हुँदा अवरुद्ध रहेको शिक्षण क्रियाकलापलाई असार १४ गतेबाट ‘टोल शिक्षा’को रूपमा टोलटोलमा नै गएर पढाउने र साउन १६ गतेबाट ‘हेलो लर्निङ’ भनेर शिक्षकलाई अनलाइनबाट हप्तामा दुई दिन भए पनि पढाउने व्यवस्था गरेकामा अहिले आएर सोमबारबाट प्रत्यक्षरूपमा कक्षामा नै आएर पढाउन थालेको प्रधानाध्यापक देउजाले बताउनुभयो ।