१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पहिरोमा अभिभावक गुमाएका बालबालिकाको ‘अभिभावक’ बन्यो एसओएस बालग्राम


0
Shares

काभ्रे । काभ्रेको पनौती–५ मा रहेको एसओएस बालग्राम अहिले सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा अभिभावक गुमाएका बालबालिकाको अभिभावक बनेको छ ।

पहिरोका कारण बाबुआमा गुमाएपछि संकटमा परेका ७ जना बालबालिकाको संरक्षण र शिक्षाको जिम्मेवारीसहित एसओएसले बालबालिकालाई बालग्राममा ल्याएको हो ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरोमा अभिभावक गुमाएका ६ जना बालक र एक बालिकाको पालनपोषण, स्वास्थ्य र शिक्षाको जिम्मेवारी एसओएस बालग्राम काभ्रेले लिएको छ ।

लिदी पहिरोले ३७ घर पुरिँदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको थियो भने दुई जना अझै बेपत्ता छन् ।

पहिरो गएपछि अस्थाई टेन्टमा असुरक्षित रुपमा रहेका बालबालिकालाई खान बस्न नै समस्या भएपछि सभामुख अग्नीप्रसाद सापकोटा र वडा अध्यक्षसँगको समन्वयमा उनीहरुलाई ल्याइएको बालग्रामका निर्देशक सुरेन्द्र अमगाँइ बताउनुहुन्छ ।

५ वर्षदेखि १२ वर्षसम्मका ७ जना बालबालिका समाजमा पूर्णरुपमा पुनःस्थापना नभएसम्मका लागि पालणपोषण, शिक्षा, स्वास्थ्य लगायतका सम्पूर्ण जिम्मेवारी बालग्रामले लिएको निर्देशक अमगाँईको भनाइ छ ।

आफ्नो अभिभावक, साथीभाई र बसोबास गरिरहेको ठाउँ गुमाउनुको पीडा बिर्सने प्रयासमा छन् बालबालिका ।

सानै उमेरमा ठूलो बज्रपात परेपनि भविष्यमा डाक्टर, प्रहरी, शिक्षक बनेर समाजसेवा गर्ने उनीहरुको लक्ष्य छ ।

एसओएस बालग्राम काभ्रेमा विभिन्न जिल्लाका १ सय १३ जना बालबालिका छन् । उनीहरुको हेरचाहका लागि १७ जना सहयोगी छन् ।

अभिभावक गुमाएका बालबालिकासँग बस्दा आफ्नो पीडासमेत भुल्ने गरेको एसओएस बालग्रामकी सहयोगी संगिता बञ्जाराको अनुभव छ ।

विभिन्न कारणले संकटमा परेका बालबालिकाका लागि एसओएस बालग्राम सहारा बनेको छ ।