१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बजार खुलेपनि ग्राहक नआउँदा विराटनगरका साना व्यापारी मारमा


0
Shares

विराटनगर । लामो समयको लकडाउन खुलेपनि विराटनगर बजारमा ग्राहक नआउँदा साना व्यापारीलाई व्यपार घाटा कसरी कम गर्ने भन्ने चिन्ताले सताएको छ ।

कोरोना संक्रमण बढ्ने डरले ग्राहक बजारमा नआउँदा व्यापारी चिन्तित भएका हुन् ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण विराटनगरका खुद्रा व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् ।

संक्रमण बढ्ने डरले ग्राहक बजार ननिस्कँदा उनीहरु मर्कामा परेका हुन् । सात महिनाको लकडाउनले सबै खुद्रा व्यवसायीहरु ऋणमा डुबेका छन् ।

ऋणको भारले थिचिए पनि साना व्यवसायी बजार खुलेपछि झिनो आशा लिएर व्यवसाय चलाउन थालेका छन् ।

सरकारले असोज १ गतेबाट बजार खुल्ला गरे पनि कोरोना संक्रमण हुने डरले ग्राहक बजारमा जाँदैनन् ।

सात महिनादेखि ऋणमा डुबेको र ग्राहक नआउँदा विस्थापित हुने मनस्थितिमा पुगेको विराटनगरका कपडा व्यवसायी सुदामा साहको भनाइ छ ।

कोभिड– १९ का कारण कोठा भाडादेखि छोराछोरीको विद्यालय शुल्कले सताइरहेको साना व्यापारीको गुनासो छ ।

लकडाउनमा घरभाडा, कर, बैंकको किस्ता तिनुपर्ने तर व्यापार शून्यको अवस्थामा छ ।

यस्तो अवस्थामा दसैं कसरी मनाउने भन्ने चिन्ता बढेको मोरङ इलेक्ट्रिक संघका पूर्व अध्यक्ष सन्तनु रेग्मी बताउनुहुन्छ ।

आर्थिकरुपमा निकै घाटामा रहेका व्यापारीहरु आफ्नो व्यापारलाई सामान्य अवस्थामा फर्काउन कठिन भइरहेको खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डलको भनाइ छ ।

यस्तो अवस्थामा सरकारले राहतको व्यवस्था नगरे व्यवसायीलाई गुजारा चलाउनै कठिन छ ।

त्यसैले सरकारले न्यून व्याजदरमा ऋण उपलब्ध गराएमा व्यापारलाई चलायमान बनाउन सहयोग पुग्ने मण्डल बताउनुहुन्छ ।

सरकारले बैकको व्याजदर मिनहा वा न्युन गरेमा सात महिनाको लकडाउनले थिलथिलो भएका साना व्यापारी तथा व्यवसायीहरुलाई राहत हुने थियो ।