१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बागलुङमा बाढीले बगाएका १५ जना अझै बेपत्ता, पीडित पालमै बस्न बाध्य


0
Shares

बागलुङ । ढोरपाटन नगरपालिका–९ को भूजी खोलामा गत भदौ १७ गते आएको बाढीले बगाएका १५ जना अझै बेपत्ता छन् । बाढीमा २२ जनाको मृत्यु भएको थियो ।

बेपत्तामध्येकी एक बालिका ढोरपाटनमा सकुशल फेला परेकी छन् । बाढीले एक सय ३१ घरमा क्षति पुर्‍याएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।

जसमध्ये ८० घर पूर्णरुपमा ध्वस्त भएका छन् भने ५१ घर आंशिक क्षति भएको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले जानकारी दिनुभयो ।

बाढीले अवरुद्ध भएको बुर्तिबाङदेखि ढोरपाटन जोडिने सालझण्डी–ढोरपाटन सडक सञ्चालनमा आएको छ ।

घरबास गुमाएका पीडित अहिले सडकमा पाल टाँगेर बसेका छन् भने केहीले आफन्तको घरमा आश्रय लिएका छन् ।

बाढीले ११ वटा जलविद्युत् केन्द्रको विद्युत् गृह र नहर बगाउँदा विद्युत् आपुर्ति पूर्णरुपमा बन्द भएको छ ।

एक स्वास्थ्य इकाई, ११ वटा झोलुङ्गे पुल, ५ वटा ढलान पुल, १० काठेपुल र दुई विद्यालय बाढीले बगाउँदा समस्या भएको स्थानीयले बताएका छन् ।

खानपान र बसाइको उचित व्यवस्थापन नहुँदा बालबालिका र वृद्धवृद्धा बिरामी हुने गरेका छन् ।

विभिन्न संस्थाहरुले दिएको राहतले बिहान बेलुकीको छाक टारेको र चिसो सडकमा रात बिताएको नमिठो अनुभव स्थानीयको छ ।

बाढी पीडितको पुर्नस्थापनाका लागि ढोरपाटन नगरपालिकाले केन्द्र र प्रदेश सरकारको ध्यानाकर्षण गराएको तथा अस्थायी व्यवस्थापनका लागि नगरपालिकाबाट काम भइरहेको नगरपालिकाका मेयर देवकुमार नेपालीले जानकारी दिनुभयो ।