१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाउन्नेमा पहिरोको पिरलो


0
Shares

नवलपुर, असोज १२ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत् नवलपुरको दाउन्नेमा गइरहने पहिरोले यात्रु निकै समस्यामा पर्ने गरेका छन् ।

पहिरो रोकथाम र यसको दीर्घकालीन व्यवस्थापन गर्न सम्बन्धित निकायले चासो नदेखाउँदा नागरिकले सधैं दुःख पाउने गरेको यात्रुहरुको गुनासो छ ।

गत बुधबार परेको भारी वर्षाले पूर्व-पश्चिम राजमार्गअन्तर्गत् दाउन्नेमा पहिरो खस्यो । साना-ठूला गरेर छ स्थानमा पहिरो खसेपछि शुक्रबार बिहानसम्म सडक अवरुद्ध भयो ।

शुक्रबार एकतर्फी भएको राजमार्गमा पूर्वी नवलपरासीको दाउन्नेदेखि पश्चिम नवलपरासीको बर्दघाट १५ किलोमिटर उकालो-ओरोलो छिचोल्न सवारी-साधनलाई छदेखि सात घन्टासम्म लाग्यो ।

शनिबार बिहान पहिरोमा एउटा बस पुरिँदा एकजनाको मृत्यु भयो भने ११ जना यात्रु घाइते भए । तर, पहिरो अहिलेपनि पूर्णरुपमा हटाउन स्थानीय प्रशासन सफल भएको छैन ।

यात्रु र मिडियालाई एकतर्फी सवारी सञ्चालन भएको जानकारी दिने गरिएपनि दाउन्ने खन्डमा यात्रा गर्ने यात्रुले सहज महसुस गरेका छैनन् ।

सवारीचालकले जथाभावी ‘ओभरटेक’ गर्दा सवारी जाम हुने गरेको छ । शनिबार बिहान एकतर्फीरुपमा सवारी सञ्चालन भएपनि दाउन्ने खन्ड पार गर्न पाँच घन्टाभन्दा बढी समय लागेको यात्रुहरु बताउँछन् ।

पहिरो रोकथाम र यसको दीर्घकालीन व्यवस्थापन गर्न सरोकारवाला निकायले चासो नदिएको र नागरिकले सधैँ दुःख पाउने गरेको यात्रुहरु गुनासो गर्छन् ।

दाउन्ने खन्डमा फोन नलाग्ने, पहाडी क्षेत्र र जंगल भएका कारण यात्रु भोकभोकै हिँड्नुपर्ने अवस्था छ ।

दाउन्ने क्षेत्रमा हरेक वर्ष समस्या आउने गरेको र यसको दीर्घकालीन समाधान खोज्ने प्रयास गरेको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी बताउनुहुन्छ ।

दाउन्ने क्षेत्रमा वर्षामा मात्र नभइ हिउँदमा पनि सुक्खा पहिरो जाने गर्दछ । सडकको दायाँ बायाँ पानीको निकास नहुँदा वर्षायामको पानीले सडक भत्काएको छ ।

भिरालो पहाडबाट झरेको भलपानीले सडक भरिँदा सडकमा खाल्टा-खुल्टी परेका छन् । पहाडका रुख ढलेर दुर्घटना हुने जोखिम पनि उत्तिकै छ ।

भिडियो हेर्नुहोस्