
क्यालिफोर्निया, असोज १२ । सूचना-प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको ‘गुगल मिट’ (गुगल बैठक) सेवा अब एक घन्टामात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ ।
गुगलले अनलाइनमार्फत् भिडियो बैठक तथा कुराकानी गर्न मिल्नेगरी गुगल मिट सेवा केही समयअगाडि सुरु गरेको थियो ।
सुरुमा सबै निःशुल्क सेवा दिएको भएपनि अब सेप्टेम्बर ३० देखि एकपटकमा बढीमा ६० मिनेटमात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको हो ।
गुगलका एक प्रवक्ताले भन्नुभएको छ-‘विगतमा १०० जनाभन्दा बढी मान्छेहरूसँग एकैपटकमा असीमित समयसम्म निःशुल्क बैठक तथा कुराकानी गर्न मिल्ने व्यवस्था थियो । अब त्यसको समय सीमित गरिएको छ ।’
उहाँले ‘गुगल मिट’को अन्य सेवा तथा कार्यप्रणालीमा कुनै परिवर्तन भने नगरिएको र गरिएमा जानकारी गराउने पनि स्पष्ट पार्नुभएको छ ।
उहाँकाअनुसार ‘गुगल मिट’मा अहिले शैक्षिक उपभोक्ताहरूले २५० जनाभन्दा बढी सहभागी एकैपटक राखेर बैठक गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यसैगरी, एउटै डोमिनबाट एक लाखभन्दा बढीले हेर्न मिल्नेगरी प्रत्यक्ष प्रसारण गर्न मिल्ने र गुगल ड्राइभमा रेकर्ड गर्नपनि मिल्ने सेवा दिइने गुगलले जनाएको छ ।
यस्तो सेवा व्यावसायिक उपभोगक्ताहरूलाईमात्रै उपलब्ध हुनेपनि गुगलले स्पष्ट पारेको छ । त्यसका लागि उपभोक्ताहरूले मासिक २५ डलरमात्रै तिरे पुग्ने गुगलद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
कोरोनाभाइरसको महामारीका कारण मानिसहरूले भौतिक भेटघाट गर्न नपाएपछि यस्तै माध्यमहरूको प्रयोग बढेको छ ।
अनलाईनमार्फत् बैठक तथा कार्यक्रमहरू गर्नका लागि गुगल मिटजस्तै जुम पनि लोकप्रिय रहेको छ ।
प्रतिक्रिया दिनुहोस्